एआईले गलत सूचना युद्धलाई सुपरचार्ज गर्दैछ


गत जून महिनामा एकजना युरोपेली विदेशमन्त्रीको सुरक्षित सिग्नल एकाउन्टमा सन्देश आयो। पठाउनेले आफूलाई अमेरिकी विदेशमन्त्री मार्को रुबियो भएको दाबी गरे र अत्यावश्यक अनुरोध गरे। केही समयपछि दुई जना अरू विदेशमन्त्री, एक जना अमेरिकी गभर्नर र कांग्रेसका एक सदस्यले पनि त्यही सन्देश पाए, यसपटक रुबियोको नक्कल गरिएको परिष्कृत भ्वाइस मेमोसहित। सञ्चार पूर्ण रूपमा साँचो जस्तो देखिन्थ्यो, वरिष्ठ अधिकारीबाट अपेक्षित टोन पनि मिल्थ्यो, तर यो खतरनाकरुपले नक्कली थियो — कुनै अज्ञात व्यक्तिद्वारा कृत्रिम बुद्धिमत्ताबाट बनाइएको डिपफेक। यो झूट समातिएको नभए यो स्टन्टले कलह सिर्जना गर्न, अमेरिकी कूटनीतिलाई कमजोर बनाउन वा वासिङ्टनका विदेशी साझेदारहरूबाट गोप्य सूचना निकाल्न सफल हुन सक्थ्यो।

यो एआईले खराब अभिनेताहरूलाई सूचना युद्ध सञ्चालन गर्न सघाएको अन्तिम डरलाग्दो उदाहरण होइन — सूचना युद्ध भनेको शत्रुमाथि फाइदा लिन सूचनाको हेरफेर र वितरण गर्नु हो। अगस्टमा भ्यान्डरबिल्ट विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले चिनियाँ टेक कम्पनी गोलेक्सीले कम्तीमा ११७ जना वर्तमान अमेरिकी सांसद र २,००० भन्दा बढी अमेरिकी सार्वजनिक व्यक्तिहरूको डाटा प्रोफाइल बनाउन एआई प्रयोग गरेको खुलासा गर्यो । ती डाटाबाट ती व्यक्तिहरूको नक्कल गर्ने विश्वसनीय एआई–जेनरेटेड व्यक्तित्व बनाउन र तिनका फलोअरहरूको मनोवैज्ञानिक विशेषतामा आकर्षित सन्देश अभियान चलाउन सकिन्छ। हङकङ र ताइवानमा समानान्तर अभियानबाट देखिएको गोलेक्सीको उद्देश्य एकैचोटि लाखौं व्यक्तिलाई लाखौं फरक–फरक अनुकूलित झूट पुर्‍याउने क्षमता बनाउनु थियो।

“सूचना जति स्वतन्त्र रूपमा बग्छ, समाज उति बलियो हुन्छ किनभने विश्वका नागरिकले आफ्ना सरकारलाई जवाफदेही बनाउन सक्छन्।”

गलत सूचना नयाँ समस्या होइन, तर एआईको आगमनले खराब अभिनेताहरूलाई अत्यन्त प्रभावकारी प्रभाव अभियान सस्तो र ठूलो मात्रामा सञ्चालन गर्न निकै सजिलो बनाइदिएको छ। जवाफमा अमेरिकी सरकारले यस्ता अभियान पहिचान र बन्द गर्ने औजारहरू विस्तार र परिष्कृत गर्नुपर्नेमा ट्रम्प प्रशासनले अमेरिकी रक्षा कमजोर बनाउँदैछ, विदेशी गलत सूचनाविरुद्धको बचाउ घटाउँदैछ र एआई–संचालित आक्रमण सामना गर्न देशलाई अत्यन्त प्रस्तुत हुननसक्ने अवस्थामा छोड्दैछ। जबसम्म अमेरिकी सरकारले सूचना युद्ध सामना गर्न आवश्यक संस्था र विशेषज्ञतामा पुनः लगानी गर्दैन, डिजिटल प्रभाव अभियानले लोकतान्त्रिक संस्था, प्रक्रिया र नेतृत्वमा जनताको विश्वास क्रमशः कमजोर बनाउँदै लगेर अमेरिकी लोकतन्त्रलाई हजारौं साना घाउबाट मृत्यु दिनेछ।

सूचना युग
आधुनिक युगको ठूलो हिस्सामा धेरै लोकतन्त्रका समर्थकहरूले सूचनाको स्वतन्त्र संचारलाई पूर्ण रूपमा राम्रो शक्तिको रूपमा हेर्दै आएका थिए। सन् २००९ मा सांघाईमा चिनियाँ विद्यार्थीहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले भनेका थिए, “सूचना जति स्वतन्त्र रूपमा बग्छ, समाज उति बलियो हुन्छ किनभने विश्वका नागरिकले आफ्ना सरकारलाई जवाफदेही बनाउन सक्छन्।” सामाजिक सञ्जालले सूचनाको प्रसारलाई तीव्र बनायो र नागरिकलाई सरकारका गतिविधि निगरानी, छलफल र जागरुक बनाउन सहज बनायो। तर यसले संस्थाहरूप्रति जनताको विश्वास पनि कमजोर बनायो र व्यक्तिगत सामग्री तथा संलग्नता–केन्द्रित एल्गोरिदमले अनलाइन इको चेम्बर सिर्जना गरेर विविध दृष्टिकोणको सम्पर्क सीमित गरी प्रयोगकर्ताहरूबीच ध्रुवीकरणलाई गहिरो बनायो।

पछिल्ला केही वर्षमा मात्र विश्वले डिजिटल सूचना क्षेत्रबाट आउने खतराको गम्भीरता बुझेको छ। अक्टोबरमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले प्रविधिको दुरुपयोग र लोकतन्त्रको पछि हटाइबीचकाु सम्बन्धलाई जोडे। उनले युरोप “अविश्वसनीय रूपमा निष्कपट” भएको बताए किनभने उसले आफ्नो “लोकतान्त्रिक स्थान ठूला अमेरिकी उद्यमी वा ठूला चिनियाँ कम्पनीले नियन्त्रण गरेका सामाजिक सञ्जाललाई सुम्पियो।” राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले यो अनलाइन सार्वजनिक स्थानलाई “संवेदनाकारी र विघटनकारी सामग्रीलाई पुरस्कृत गर्ने पारिस्थितिकी तन्त्र” भनी वर्णन गरे जुन “नाफा अधिकतम खोज्ने कम्पनीहरूको अनियन्त्रित शक्ति” बाट उत्पन्न हुन्छ, र जसले निश्चित आवाजलाई एकपक्षीय रूपमा बढाउने वा दबाउने गर्छ — यो लोकतन्त्रका मूल सिद्धान्तविरुद्धको परिणाम हो।

एआईको प्रगतिले लोकतन्त्रमाथि यी खतरालाई झन् तीखो बनाउँदैछ। पछिल्लो आधा दशकसम्म विदेशी गलत प्रभाव सामना गर्नु जलसेनाको युद्धमा युद्धपोतको पछ्याइ जस्तो थियो। चीन र रूसजस्ता अमेरिकी शत्रुले ठूला राज्य–नियन्त्रित मिडिया (जस्तै चीनको सीजीटीएन र रूसको आरटी) अस्थायी नक्कली सामाजिक सञ्जाल प्रोफाइल र बोटहरूको झुण्ड प्रयोग गरेर विश्वभरि अस्थिरता उत्पन्न गर्ने कथा फैलाउँथे। तिनका विधि खतरनाक थिए तर मोटा र सजिलै देखिनेखाल थिए । आज त्यो युग पुरानो प्रतित हुन्छ । पुराना गलत सूचनाका युद्धपोत अझै छन्, तर एआईको उदयले धेरै ठूलो संख्यामा लडाकुलाई प्रतिस्पर्धामा ल्याइदिएको छ। सूचना युद्ध अब स्वचालित ड्रोनको लडाइँ जस्तो भएको छ — अति व्यक्तिगत, निरन्तर अनुकूलनशील र जुनसुकै अभिनेताले पनि आफ्ना शत्रुविरुद्ध सस्तैमा प्रयोग गर्न सक्छन्। विदेशी प्रचार र गलत सूचना अभियान अब विशिष्ट कमजोरी — व्यक्तिको राजनीतिक झुकाव, सामाजिक मूल्य वा अनलाइन किनमेल बानी — खोजेर लक्षित आक्रमण गर्छन् जसले दर्शकको मनोवृत्ति र व्यवहारमा अधिकतम प्रभाव पारोस्।

खुफिया संकलन, गलत सूचना अभियान र खराब प्रभावका लागि एआईको प्रयोग विश्वभरि फैलिँदैछ

प्रचार अभियानहरू ऐतिहासिक रूपमा सामग्री सिर्जना, अनुवाद र लक्ष्य छनोटका लागि मानव श्रमले सीमित थिए। एआईले ती जनशक्ति आवश्यकता हटाइदियो, जसले सूचना युद्धलाई यस्तो गति र परिष्कारमा सञ्चालन गर्न सम्भव बनायो जसको सामना गर्न धेरै देश तयार छैनन्। विभाजनकारी राजनीतिक सन्देशको अविरल आक्रमण सामना गर्दा सामाजिक एकता टुट्न सक्छ र सरकारका निर्णय प्रक्रिया पक्षाघातमा पर्न सक्छन्। डिजिटल सूचना वातावरण अब यस्तो युद्धक्षेत्र बनेको छ जहाँ घरेलु र विदेश नीतिका उद्देश्य शत्रुले आफ्नो क्षेत्र नछोडिकनै कमजोर बनाउन सक्छन्।

सीमा नभएका बोटहरू
खुफिया संकलन, गलत सूचना अभियान र खराब प्रभावका लागि एआईको प्रयोग विश्वभरि फैलिँदैछ। एल साल्भाडोरमा राष्ट्रपति नायिब बुकेले आफ्नो परिष्कृत राज्य प्रचार संयन्त्रलाई एआई–संचालित बोट नेटवर्कसँग जोड्दैछन्। विदेशी लगानी आकर्षित गर्न देशको प्राविधिक आधुनिकता देखाउनुका साथै एआई बोटहरूले मानवअधिकार उल्लंघनको आरोप लगाउने कथालाई दबाउन वा पुनःलेख्न सरकारलाई सहयोग गर्छ।

एआई अस्थिरता सिर्जनामा पनि प्रयोग भइरहेको छ। च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईले हालै चिनियाँ अभिनेतासँग जोडिएका केही च्याटजीपीटी एकाउन्ट हटाएको घोषणा गर्‍यो। “अंकल स्प्याम” नाम दिइएको यो छद्म प्रभाव अभियानले एआई प्रयोग गरेर नक्कली अनलाइन व्यक्तित्व र अमेरिकी विवादास्पद राजनीतिक मुद्दा (जस्तै ट्यारिफ) का दुवै पक्षमा तर्क गर्ने ध्रुवीकरणकारी पोस्ट बनायो। समग्र उद्देश्य अमेरिकाभित्र राजनीतिक विभाजन गहिरो बनाउनु थियो। तर अमेरिकी राष्ट्रिय सुरक्षाका लागि सबैभन्दा घातक पक्ष खुफिया संकलन थियो — एआई उपकरणले एक्स (पहिले ट्विटर) र ब्लूस्काईजस्ता प्लेटफर्मबाट ठूलो परिमाणमा व्यक्तिगत डाटा स्क्र्याप र विश्लेषण गर्‍यो। यी चिनियाँ–जोडिएका अभिनेताले यो सूचना प्रयोग गरेर लक्ष्य विधि परिष्कृत गर्न सक्छन् र भविष्यको सूचना युद्धमा बेइजिङलाई फाइदा दिन सक्छन्।

अनलाइन गलत सूचनाको अफलाइन परिणाम पनि हुन्छ। भारतमा एआई–जनरेटेड तस्बिर र भिडियोले मुस्लिम–विरोधी घृणायुक्त सन्देश फैलाएर धार्मिक तनाव बढाएको छ र अल्पसंख्यकमाथि मनोवैज्ञानिक आतंक र शारीरिक हिंसाको खतरा बढाएको छ। बीबीसीको रिपोर्टअनुसार गृहयुद्ध चलिरहेको सुडानमा टिकटकमा पूर्वनेता ओमार अल–बशीरको भ्वाइस क्लोन गरेर उनलाई नक्कल गरिएको छ, जो २०१९ को सैनिक कूपछि सार्वजनिक रूपमा देखिएका छैनन्। यस्तो एआई प्रयोगले आधिकारिक सूचनाप्रति जनविश्वास घटाउँछ र पहिल्यै क्रूर द्वन्द्वमा नागरिक व्यवस्था छिटो भत्काउँछ।

रोमानियामा सन् २०२४ को राष्ट्रपति चुनावमा विदेशी हस्तक्षेपले सबैभन्दा गम्भीर प्रभाव देखायो। रोमानियाली खुफिया सेवाले रूससँग जोडिएको ठूलो गलत सूचना अभियान पहिचान गर्‍यो जसले चरम दक्षिणपन्थी, रूस–समर्थक उम्मेदवार कालिन जर्जेस्कुको अनलाइन उपस्थिति कृत्रिम रूपले बढायो। अभियानमा डिपफेक, दशौं हजार एआई बोट एकाउन्टबाट कमेन्ट र टिकटकजस्ता प्लेटफर्ममा सयौं प्रभावकारलाई भुक्तानी गरिएको थियो। यो अभियान यति प्रभावकारी थियो कि पहिलो चरणमा जर्जेस्कुले जितेपछि मतदानको वैधतामाथि प्रश्न उठ्यो। रोमानियाको संवैधानिक अदालतले नतिजा रद्द गरेर पुनः मतदान गरायो। यो घटनाले के देखायो भने केही अवस्थामा एआई–संचालित गलत सूचनाले लोकतन्त्रका आधारभूत प्रक्रियालाई मात्र खतरा होइन, अमान्य पनि बनाउन सक्छ।

रक्षा हटाउँदै
खतरा झन् गम्भीर बन्दै जाँदा अमेरिका सूचना युद्धप्रति पहिलेभन्दा बढी कमजोर बनेको छ। सन् २०१६ मा ओबामा प्रशासनको अन्त्यतिर अमेरिकी सरकारले विदेशी प्रचार र गलत सूचना पहिचान र सामना गर्ने क्षमता बलियो बनाउन थाल्यो — खासगरी स्टेट डिपार्टमेन्टभित्र ग्लोबल इन्गेजमेन्ट सेन्टर (जीइसी) को स्थापना गरेर। जिइसी र अन्य सूचना युद्धमा केन्द्रित कार्यालयले भूराजनीतिक विश्लेषक र सामाजिक सञ्जाल निगरानी औजार प्रयोग गरेर विदेशी प्रभाव अभियान उजागर गर्थे। तर अमेरिकी सरकार अझै गलत सूचना रणनीतिमा पछाडि परिरहेको थियो।

बाइडेन प्रशासनले केही प्रगति गर्‍यो। सन् २०२३ मा जिइसी मार्फत अफ्रिका र ल्याटिन अमेरिकामा रूसी सूचना युद्ध अभियान उजागर र विघटन गर्ने कार्यक्रम चलायो। यो पूरै–सरकारको रक्षा थियो। फेब्रुअरी २०२४ मा जिइसी को नेतृत्वमा केन्यामा आधारित रूस–निधियुक्त अनलाइन मिडिया प्लेटफर्म अफ्रिकन स्ट्रीम उजागर र विघटन गरियो। सेप्टेम्बर २०२४ मा विदेशमन्त्री एन्टोनी ब्लिंकेनले रूसी राज्य–नियन्त्रित आरटीको माउ कम्पनी रोसिया सेगोद्न्यामाथि प्रतिबन्ध घोषणा गरे।

तर दोस्रो ट्रम्प प्रशासनले विदेशी खराब प्रभाव र गलत सूचना अभियान पहिचान र सामना गर्ने सरकारी कार्यालयहरूलाई कटौती वा अत्यन्त कमजोर बनाएको छ। जिइसी, राष्ट्रिय खुफिया निर्देशकको फरेन मालिग्न इन्फ्लुएन्स सेन्टर, (एफएमआइसी) को फरेन इन्फ्लुएन्स टास्क फोर्स र साइबरसुरक्षा तथा पूर्वाधार सुरक्षा एजेन्सीका केही भाग समेत यो सूचीमा छन्। यी कार्यालय हटाउँदा अमेरिकी सरकारसँग सूचना क्षेत्रमा शत्रु पहिचान, ट्र्याक, मूल्यांकन र रक्षा गर्ने क्षमता पर्याप्त रहेन।

ट्रम्प प्रशासनको यो एकपक्षीय निशस्त्रीकरण गैरजिम्मेवार कार्य हो। खराब अभिनेता गायब भएका छैनन्। अक्टोबरको सुरुमा अफ्रिकन स्ट्रीमका संस्थापक अहमद काबालोले “सोभरेन मिडिया” नामको “पश्चिमी शासक वर्गको निरन्तर सेन्सरसिप र एल्गोरिदमिक दमन” विरुद्ध लड्ने “साम्राज्यवाद–विरोधी गठबन्धन” घोषणा गरे। यसको निधि स्रोत अस्पष्ट छ तर काबालो रूसी सहयोगका पुराना लाभार्थी हुन्। पहिले गल गलत सूचना निगरानी गर्ने अमेरिकी एजेन्सी नहुँदा ट्रम्प प्रशासनमा कसैले सोभरेन मिडिया वा अन्य शत्रु सरकारसँग जोडिएका मिडियालाई गम्भीर रूपमा हेरिरहेको छ कि छैन थाहा छैन। यी अभिनेताले संयुक्त रूपमा अमेरिकी हितलाई ठूलो क्षति पुर्‍याउन सक्छन्, विशेष गरी एआईले झूट र सत्य छुट्याउन नागरिकलाई कठिन बनाउँदै जाँदा।

सबैको सहभागिता आवश्यक
एउटा पूर्ण आँधी आउँदैछ। अमेरिकी शत्रुहरू गलत सूचना अभियानमा ठूलो लगानी गरिरहेका छन्, एआई प्रगतिले खतरनाक युद्धको नयाँ रूप ल्याउँदैछ र दोस्रो ट्रम्प प्रशासनले अमेरिका र साझेदारलाई विदेशी खराब प्रभावबाट जोगाउने रक्षा कमजोर बनाएको छ।

सरल समाधान छैन, तर गम्भीर अमेरिकी रक्षा दुवै प्राविधिक नवप्रवर्तन र संस्थागत पुनर्संरचना चाहिन्छ। यसमा नजिकका मित्रराष्ट्रहरूको संलग्नता र पूरै–सरकार दृष्टिकोण हुनुपर्छ जसमा जिसीइ को उत्तराधिकारी र अन्य गलत सूचना विरोधी कार्यालयको पुनर्गठन होस्। ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा निर्देशन जारी गरेर एआई–वर्धित विदेशी खराब प्रभावलाई अमेरिकाका लागि स्पष्ट र वर्तमान खतरा घोषणा गर्नुपर्छ। यो निर्देशनले खुफिया समुदायलाई शत्रुको गलत सूचना क्षमता बारे नयाँ व्यापक मूल्यांकन गर्न लगाओस्। यसले स्थायी अन्तर–एजेन्सी संरचना पनि स्थापना गरोस् जसको नेतृत्व नेसनल सेक्युरिटी काउन्सिलले गरोस्।

सूचना युद्धविरुद्ध रक्षा गर्न सार्वजनिक–निजी साझेदारी पनि चाहिन्छ जसको संयोजन ह्वाइट हाउस अफिस अफ साइन्स एन्ड टेक्नोलोजी पोलिसीले गरोस्। सामाजिक सञ्जाल प्लेटफर्म, अग्रणी एआई अनुसन्धान ल्याब र साइबरसुरक्षा कम्पनीसँग औपचारिक सहकार्य च्यानलले खुफिया साझेदारी, एआई–जनरेटेड सामग्री पत्ता लगाउने प्रविधि सह–विकास र उद्योग–व्यापी उत्कृष्ट अभ्यास स्थापना गर्न सघाउँछ।

यी कदमहरू स्वतन्त्र अभिव्यक्तिलाई नियन्त्रण गर्न होइन, विदेशी गलत सूचनाबाट जोगिएको शुद्ध संवाद गर्ने अमेरिकी नागरिकको अधिकार जोगाउन हो। २०२६ को मध्यावधि चुनाव नजिकिँदैछ, अब कार्य गर्ने बेला यही हो। यदि ट्रम्प प्रशासनले अमेरिकाको सुरक्षा बलियो बनाउन असफल भयो भने शत्रुका सूक्ष्म र निरन्तर प्रभाव अभियानले अमेरिकीले मन पराएको लोकतान्त्रिक जीवनशैलीलाई कमजोर बनाउनेछ।

(जेम्स पी. रुबिन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र मेडेलिन अल्ब्राइटका वरिष्ठ सल्लाहकार थिए र बाइडेन प्रशासनमा स्टेट डिपार्टमेन्टको ग्लोबल इन्गेजमेन्ट सेन्टरका विशेष दूत तथा संयोजक थिए। उनी क्रिस्टियन अमानपुरसँगै पोडकास्ट “द एक्स फाइल्स” का सह–होस्ट हुन्।
दर्जन वुजिका सन् २०१९–२०२१ सम्म स्टेट डिपार्टमेन्टको ग्लोबल इन्गेजमेन्ट सेन्टरमा एनालिटिक्स निर्देशक र २०२४–२०२५ मा नयाँ दिल्लीस्थित अमेरिकी दूतावासमा इमर्जिङ टेक्नोलोजी कोअर्डिनेटर थिए।)

नोभेम्बर १९, २०२५
, फरेन अफेयर्सबाट

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति