ओलीको प्रचण्डलाई व्यंग्य : ‘तपाईलाई मेरा साथीले घेरा हालिसके’

काठमाडौं ३ मसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड संकटमा परिसकेको र उनका साथीहरूले प्रचण्डलाई घेरा हालिसकेको व्यङ्ग्य गरेका छन्।
ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल र भीम रावलजस्ता नेताहरू आफ्ना साथी भएको र प्रचण्डको पार्टी विघटन गराइसकेको उल्लेख गरे ।
ओलीले अब नेकपा माओवादीको वैधानिकता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीमा मात्र रहेको र प्रचण्डहरू माओवादी नभएको बताए ।

नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा काठमाडौंमा बुधबार आयोजित भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड संकटमा परिसकेको बताए ।

‘एकताको नाममा नचाहिँदो काम नगर्ने खालका मान्छे, अहंकारले भरिएका मान्छे थुपारेर प्रचण्डले अब देख्छन्,’ उनले भने, ‘एक ढंगले भन्ने हो भने म खुसी छु। दोस्रो, तेस्रो, चौथो हुँदै छैटौं तहसम्मका नेता मेरै साथी हुन्। अब देख्छन् प्रचण्डले मेरा साथी कस्ता छन् ।’

लामो समय नेकपा एमालेको नेतृत्व पंक्तिमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलजस्ता नेताहरूतर्फ संकेत गर्दै उनले थपे, ‘मेरा साथीले त प्रचण्डलाई घेरिसके । माओवादी पार्टी विघटन गराइसके, माओवादी पार्टी सिध्याइसके ।’

ओलीले अब नेकपा माओवादीको वैधानिकता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीमा मात्र रहेको बताए । ‘अब नेकपा माओवादी भनेको विप्लवजीहरूको मात्र हो । प्रचण्डहरू अब माओवादी होइनन्,’ उनले भने।

ओलीले पछिल्लो समय आफूविरूद्ध निरन्तर अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको घटनाको विरोधमा उभिएका छन्।

निवर्तमान प्रधानमन्त्री ओलीले प्रसाईंलाई अभिव्यक्ति दिएकै आधारमा पक्राउ गरिएको भन्दै उनको रिहाइको मागसमेत गरेका छन्। 

काठमाडौंमा बुधबार स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै ओलीले प्रसाईंको रिहाइ माग गरेका हुन्। 

ओलीले भने, ‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरून्तै छाड्नुस्। बोल्नै नपाउने पनि हुन्छ?’ 

 मानव अधिकार आयोगले समेत बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर भनिसकेको बताउँदै ओलीले उनको रिहाइ माग गरेका हुन्।

‘दिउँसो भिडिओ निकाल्यो, बेलुका समात्यो! यो सरकारसँग त्यो भिडिओको जवाफ छ कि छैन? दुर्गा प्रसाईंलाई दिने जवाफ छ कि छैन। म प्रधानमन्त्री र गृहमन्त्रीलाई सोध्न चाहन्छु। एआई त होइन होला,’ ओलीले भने, ‘प्रश्न उठायो, कसैले अनि। भएकै भिडिओ त देखाएको हो नि! यति साह्रो तपाईंहरूको ताउरमाउर थियो, दुनियाँ शोकमा भएको बेला तपाईंहरू त षड्यन्त्रको तानाबाना बुनिरहनुभएको रहेछ।’ 

ओलीले बोलेबापत आक्रोशित, उत्तेजित भएर मान्छे गिरफ्तार गर्न नहुने पनि बताएका छन्।

‘कसलाई को मन पर्छ कसलाई को मन पर्दैन भन्ने हुँदैन। के मा थुन्ने के मा नथुन्ने भन्ने हुँदैन,’ उनले थपे, ‘भएको भिडिओ बाहिर ल्याउनु अपराध हो? राति राति स्वेच्छाकारी ढंगले के गरेको? बिहान गिरफ्तार गरेको भए के हुन्थ्यो। तमासा गरिरहेको छ यो सरकारले।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति