ओलीले फेरि भनेः यो ‘हा-हु’को सरकार हो

काठमाडौं २ मंसिर । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि सुशीला कार्की नेतृत्वको सरकारलाई हाहुको सरकार भन्दै चर्को रोष प्रकट गरेका छन् । जनताद्वारा निर्वाचित संसद अनधिकृत ढंगबाट विघटन गरिएको छ, मैले भन्दै आएको छु हाहुबाट सरकार बनेको छ,’ ओलीले भने ‘ विधिवत बनेको सरकार अपदस्त गरेर, विधिवत बनेको संसद विघटनको सिफारिश गरेर, देशलाई प्रतिकूल दिशामा लान खोजिएको छ।’जेनजी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिँदै अहिलेको सरकार आगजनी, तोडफोड र लुटपाटबाट बनेको समेत आरोप लगाए ।
च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार पार्टीका निवर्तमान सांसदहरूको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले जेनजी आन्दोलन र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारविरूद्ध रोष प्रकट गरेका छन्।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री ओली पदच्यूत भएका थिए। त्यसबेला आन्दोलनकारीको आक्रमणबाट जोगिन ओली हेलिकप्टर चढेर सेनाको व्यारेकमा गएर १० दिनसम्म उतै बसेका थिए। उनै ओलीले जेनजी आन्दोलनप्रति तिखो टिप्पणी गरेका हुन्।

‘उनीहरू भन्छन् अहिलेको सरकार क्रान्तिबाट बन्यो, कहाँ भयो क्रान्ति ? नेपालमा त प्रतिक्रान्ति भएको छ,’ उनले भने, ‘सम्पदा जलाइएको छ। मान्छे यत्रोविघ्न मरेका छन्। यो बलिदान क्रान्तिका लागि भएन। यसले देशलाई पछाडि फर्कायो। लोकतन्त्र भत्कायो। संविधान मिच्यो। र, संविधानमा नभएको मात्र होइन, संविधानले हुन्न भनेको सरकार बन्यो।’

ओलीको आरोप थियो ‘यो सरकार स्पष्टतः लोकतान्त्रिक विधि प्रक्रियाबाट निर्वाचित भएको होइन। यो भ्रम नरहोस्, सरकार कुनै जनक्रान्तिबाट बनेको होइन। यो आगजनी, तोडफोड र लुटपाटबाट बनेको सरकार हो। आगजनी, तोडफोड र लुटपाटलाई क्रान्ति, विद्रोह र आन्दोलन भनिँदैन।’

सरकार निर्माण र संसद् विघटन दुवै असंवैधानिक भएको दाबी गर्दै ओलीले अहिले बाघको छालामा स्यालको रजाइँ भइरहेको बताए।
उपाध्यक्ष सुरेन्द्र पाण्डेले लिडरसिप्रति हमला गरे
ओलीले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ भन्नेहरूले पार्टी र नेतृत्वविरूद्ध हमला गरेको आरोप लगाएका छन्।

केही समयअघि मात्रै उपाध्यक्ष सुरेन्द्र पाण्डेले धरहरा मैले बनाएको भन्ने प्रधानमन्त्रीले जेनजी विद्रोहमा भएको मानवीय क्षतिको पनि जिम्मा लिनुपर्ने अभिव्यक्ति दिएका थिए।

‘प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ भनेको सुनिन्छ। के हो जिम्मा लिनु भनेको ?’ उनले भने, ‘यो पार्टी विरूद्धको स्पष्ट हमला हो। लिडरसीपविरूद्धको हमला हो। जिम्मा लिनुपर्छ भनेको के हो ?’

संसद भवनमा आगो लगाउन खोजिएपछि गोली चलाउनु परेको भनेर सेना प्रहरी लगायतका सुरक्षा अंगले भनिसकेको बताउँदै ओलीले त्यसबेला परिस्थिति नै त्यस्तो बनेको दाबी गरेका हुन्।

जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो। त्यसमध्ये ४५ जनालाई अन्तरिम सरकारले सहिद घोषणा गरिसकेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन–जी विद्रोहअघि सामाजिक संजालमा चलाइएको ‘नेपो बेबी’ ट्रेन्डको विरोध गर्दै यो बालबालिकाविरुद्धको अपराध भएको बताएका छन् ।

यसअघि पनि ओलीले ‘नेपो बेबी’ ट्रेन्डको विरोध गर्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । २ कार्तिकमा उनले कोटेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै आफूले ‘नेपो बेबी’लाई स्वीकार नगर्ने बताउँदै भनेका थिए, ‘म नेपो बेबीलाई स्वीकार गर्दिनँ । यो अहंकार होइन । केको नेपो बेबी ? नेपो बेबीको कुरा गर्दा बच्चालाई त्रास छ ।’ 

उनले नेपो बेबी बालबालिकाविरुद्धको अपराध भएको बताउँदै बाबुआमाले गल्ती गरे पनि तिनका छोराछोरीलाई त्यसको सजाय दिन नहुने बताए । जेन-जी भन्ने कुरा पनि भ्रान्त धारणा भएको टिप्पणी गर्दै जेनी-जी वा जेनेरेसन जेड कम्प्युटरको विकासक्रमको एउटा अवधिको कुरा गरिएको बताउँदै यो मान्छेसँग कुनै तालुक राख्ने कुरा नभएको दाबी पनि ओलीले गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति