थोत्रो कांग्रेस बोकेर जनतामा जान सकिंदैनः गगन थापा

काठमाडौं २७ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यथास्थितिको थोत्रो कांग्रेस बोकेर चुनावमा जान नसकिने हुनाले पार्टी अधिवेशन अनिवार्य भएको बताएका छन् । थापाले आगामी फागुन २१ गते हुने निर्वाचनबाट नै नयाँ संसद् गठन हुने र यही बाटो संविधानलाई सही मार्गमा ल्याउने माध्यम हुने स्पष्ट धारणा व्यक्त गरेका छन्। उनले केन्द्रीय समितिको बैठकमा बोल्दै निर्वाचनमा कांग्रेसको अडान एकदमै स्पष्ट रहेको र यसबारे कुनै प्रकारको अलमल नरहेको बताएका छन्।
थापाका अनुसार, नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा भाग लिने मात्र होइन, त्यसलाई सफल बनाउन पूर्ण प्रतिबद्धता जनाएको छ। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “कांग्रेसले फागुन २१ को निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखोस्।”
उनले प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पनि कांग्रेसले आफ्नो निर्णय प्रष्ट रूपमा प्रस्तुत गरिसकेको जानकारी दिए। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय पनि यही अडानसँग मिल्ने उनले बताएका छन्।
पार्टीभित्र देखिएको अलमलका विषयमा थापाले प्रस्ट पार्दै भने, “अहिलेको बहस निर्वाचनबारे होइन, अधिवेशनबारे हो। निर्वाचनअघि अधिवेशन गर्नुपर्छ भन्ने कुरा उठिरहेको हो, किनभने अधिवेशनबाट आउने नीति र नेतृत्वले नै हामीलाई चुनावका लागि योग्य बनाउँछ।”
थापाले आगामी निर्वाचन लोकतन्त्रलाई सबल बनाउने अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै सबै पार्टी र कार्यकर्तालाई तयारीमा जुट्न आग्रह गरेका छन्। उनका अनुसार, निर्वाचन नै राजनीतिक स्थायित्व र संविधान कार्यान्वयनको एक मात्र बाटो हो।
यथास्थितिको कांग्रेस बोकेर जनतामा जान सकिंदैन, थापाले भने – नयाँ कांग्रेस बोकेर मात्रै जनताका बीचमा जानुपर्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति