उदारवादभित्रको संकट विश्वभर विस्फोट हुने कगारमा

उदारवादलाई आधुनिकताको सफलताको कथा मान्ने गरिन्छ । यसले मानिसलाई सामन्तवादको बन्धनबाट मुक्त गरायो । धार्मिक जडताबाट बाहिर निकाल्यो तथा अधिनायकवादी संरचनाबाट जोगायो । तर्कबुद्धि, स्वतन्त्रता तथा आत्मनिर्णयको अधिकारलाई केन्द्रमा राखेर उदारवादले सबैका लागि ढोका खुला रहेको विश्व व्यवस्थाको संकल्प पनि गर्‍यो । 

उदारवादमा किन देखापर्‍यो संकट ?

सर्वत्र विजयी हुँदै गएको उदारवादलाई आफ्नै जीतले संकटमा धकेल्यो । आफ्ना पुराना असहजताबाट मुक्त भएको संसारलाई उदारवादले भविष्यको दिशा पनि देखाउनुपर्ने हुन्छ । आगामी दिनबारे गर्नुपर्ने अभिमुखिकरणमा असफल हुने हो भने त्यहाँ रिक्तता पैदा हुन्छ । त्यही रिक्तता भर्न अधिनायकवाद तथा लोकप्रियतावाद जस्ता लहर आइपुग्छन् । 

त्यसैले अब प्रश्न उठेको छ– उदारवादमाथि हमला भएकै कारण संकटमा पुगेको हो वा आफ्नै सफलताको बोझ थाम्न नसकेर संकटमा पुगेको हो ?

यो सन्दर्भमा हामी जर्मन–अमेरिकी दार्शनिक लियो स्ट्रासलाई सम्झिन सक्छौँ । अमेरिकामा बसाइँ सरेपछि उनी प्रभावशाली चिन्तकका रूपमा चिनिएका थिए । उनका कृतिहरू अहिले अमेरिकामा ट्रम्प निकट ‘नियो–कन्जर्भेटिव’हरूले उदधृत गर्ने गरेका छन् ।

स्ट्रासले उदारवादमा डरलाग्दो विरोधाभाष देखाएका थिए । उनी भन्थे, ‘सबै सत्यलाई सापेक्षीकरण गर्दै, अन्तिम सत्यको दाबीलाई खारेज गरेर उदारवादले आफ्नै जग कमजोर बनाउँछ ।’ उनका अनुसार सापेक्षिकरणले दिशाहीनता निम्त्याउँछ । त्यही दिशाहिनताले प्राधिकारको माग गर्न पुग्छ । उनले प्रस्तुत गरेको यो तर्कअनुसार, सहिष्णु संस्कृति तथा निरपेक्ष मूल्यको खारेजीका बाबजुद उदारवाद आफैले कुनै समय फालेको भनिएको शक्तिशाली राज्यको अवधारणा निम्त्याउन पुग्छ ।

अमेरिकामा परम्परावादी (कन्जर्भेटिव) रणनीतिकारहरू किन बारम्बार स्ट्रासको कुरा गर्छन् भनेर बुझ्न हामीलाई माथि उल्लिखित सन्दर्भले सजिलो बनाउँछ । उनीहरूका लागि स्ट्रास उदारवादको बौद्धिक कमजोरिको मुखुण्डो उतारिदिने सिद्धान्तकार हुन् । जसको प्रयोगमार्फत अनुशासन, नियन्त्रण तथा शक्तिको राजनीतिमा फर्किने सैद्धान्तिक बहाना प्राप्त हुन्छ । 

स्ट्रासले कुनै समय आफ्नो मन्तव्यको क्रममा सावधान बनाउन प्रयोग गरेको सन्दर्भ अहिले राजनीतिक अभ्यासको सहयोगी बन्न पुगेको छ । यदि स्वतन्त्रता स्वेच्छाचारितामा पतन भयो भने अधिनायकवादी सम्भ्रान्तहरूले सही बाटोमा ल्याउनुपर्छ भन्न थालिएको छ । ट्रम्पका विचारकहरू यस्तै तर्क गर्न थालेको सुन्न पाइन्छ । 

‘बलियो शासक’, ‘कानुन र व्यवस्था’ तथा सीमानाबारे हुने चर्चाले नयाँ खालको अधिनायक खोजेको प्रस्ट देखाउँछ । यस्तो खोजिले स्ट्रासले देखेको समस्यालाई व्यवहारमै प्रस्तुत गरिदिएको छ ।

स्ट्रासले उदारवादबारे गरेको आधारभूत समालोचनाले इसाइया बर्लिनको नकरात्मक र सकरात्मक स्वतन्त्रताको झल्को दिन्छ । नकरात्मक स्वतन्त्रता भनेको व्यक्तिले आफूमाथि हुने जबर्जस्तिबाट पाउने स्वतन्त्रता हो । स्वतन्त्रताको यस्तो अवधारणा उदारवादको शास्त्रीय आदर्श पनि हो । 

त्यसैगरी सकरात्मक स्वतन्त्रता भनेको कसरी अर्थपूर्ण जीवन बनाउने तथा बृहत् परिवेशमा आफुलाई प्रस्तुत गर्ने भन्ने छनोटको स्वतन्त्रता हो । बर्लिनका अनुसार उदारवदले भने नकरात्मक स्वतन्त्रतामा धेरै जोड दियो । अधिकार दिनुपर्छ भन्यो तर मानिसले त्यसको प्रयोग कसरी गर्ने हो भन्ने बताएनन् ।

त्यसैले गर्दा उदारवादका संकल्पहरू द्विविधाले भरिएका भए । झट्ट हेर्दा मान्छेलाई स्वतन्त्र बनाएको जस्तो पनि देखियो तर सँगै यसले उद्विग्न पनि बनाएको छ । मानिस व्याकुल पनि भएका छन् । बाह्य बन्धनबाट मुक्ति पाएलगत्तै मानिस आफ्नो जीवन कस्तो बनाउने भन्ने प्रश्नमा पुग्छन् । 

सबैसँग स्रोत साधन, शिक्षा नहुन सक्छ । स्वतन्त्रतालाई रचनात्मक रूपमा प्रयोग गर्ने भित्री आकांक्षा नहुन पनि सक्छ । स्थायी रूपमा विचलित समाजमा धेरै मानिसमा अन्तर्दृष्टि र परिपक्वताको अप्ठेरो बाटो रोज्ने तागत नहुन सक्छ । यस्तो अवस्थाबारे सन् १९८०को दशकमै नेइल पोस्टम्यानले पनि लेखेका छन् ।

आजको दिनमा, उदारवाद दुईवटा प्रतिद्वन्द्वीको सामना गरिरहेको छ । पहिलो हो, ध्यान भड्किने अर्थात् विचलनको संस्कृति । जसमा राजनीति तमाशा बन्न पुग्छ, साथै सत्यले आफ्नो आकर्षण पनि गुमाउन पुग्छ । पोस्टम्यानले यसलाई ‘मनोरञ्जन समाज’ भनेका छन्, जहाँ मनोरञ्जन केवल सहायक प्रभावका रूपमा हुँदैन । 

आम सञ्चारको मुख्य स्वरुप नै बन्न पुग्छ । संध्याकालीन समाचार वा चुनावका बहस हेर्ने जोकोहीले पनि सजिलै राजनीति नै मनोरञ्जनको शैलीमा फसेको बुझ्न सक्छ । बहसहरू प्रदर्शनीजस्ता देखिन्छन् । उम्मेदवारहरू प्रदर्शनका कलाकारजस्ता देखिन्छन । जटिलता एक प्रकारको उपद्रवजस्तो देखिन्छ । उन्मुक्त नागरिक जीवनका उदार मूल्यहरू सार्वजनिक जीवनमा लागु हुन असम्भवप्रायः हुँदै जान्छ ।

दोस्रो, उदारवाद र पुँजीवाद पनि आपसमा जुध्छन् । पुँजीवादले उदारवादका मूल्यहरू विकृत बनाउँछ । अधिकारहरू बजारका अवसर बन्छन । स्वायत्तता स्वचालित बजार बन्छ । ‘पेपाल’ तथा ‘पालान्टिर’जस्ता कम्पनीका मालिक पिटर थिल, फेसबुकका मार्क जुकरबर्ग वा अमेजनका जेफ बेजोसजस्ता उद्यमीहरू यस्तो परिवर्तनमा आइपुग्छन् । पिटर थिल त खुलेआम लोकतन्त्र बढी भएको घोषणा गर्छन् । 

उनी आर्थिक स्वतन्त्रता बेलगाम हुनुपर्ने मान्छन् । उनको अर्थमा आर्थिक स्वतन्त्रता भनेको सीमाहीन उद्यमशीलता हो । जुकरबर्गले मानिसलाई आपसमा जोड्नका लागि फेसबुक बनाए, तर उनले मानिसलाई जोड्ने काम मात्रै गरेनन्, संसारभर मानिसलाई निगरानी र नियन्त्रणको पूर्वाधार पनि तयार पारे । 

जेफ बेजोसले अमेजनलाई हरेक चिज बेच्ने ठाउँ बनाए । कामदारको स्वभावदेखि उपभोक्ताको आदत हुँदै आम मानिसको ‘डाटा’ प्रयोग प्रवृत्तिसम्मलाई दक्षता र नाफाको बजारिया तर्कमा ढालिदिए । यस्तै केही सीमित व्यापारिक साम्राज्यहरूले श्रमिकको निगरानी, राज्यलाई तिर्नुपर्ने करमा अनुकूलन तथा बजार संयन्त्रहरूद्वारा दैनन्दिन जीवनमा जताततै बजार संयन्त्रको घुसपैठ गराइरहेका छन् । 

यद्यपि यी तीनै जना भने स्वतन्त्रताको भाषा बोल्छन् । व्यवहारमा भने निर्भरता, नियन्त्रण र डिजिटल प्राधिकारका नयाँ तरिकालाई थप सशक्त बनाउने संरचना निर्माण गरिरहन्छन् । यसरी ‘सबैका लागि सम्बृद्धि’ भन्ने उदारवादी संकल्प अन्ततः विपरीत नतिजा दिने ठाउँमा पुग्छ । 

आत्म–मुक्तिको धारणा आत्म–अनुकूलनमा पुग्छ । स्वायत्तता व्यावसायिक निर्भरतामा पुग्छ । स्वतन्त्रता साध्य रहँदैन । बरु बजारले अझ बृहत् दक्षताको साधन बनाइदिन्छ । सामाजिक सञ्जालमा आफ्ना धारणा वा विचारको ‘स्वतन्त्र अभिव्यक्ति’ मौद्रीकरण हुन पुग्छन् ।

इशापूर्व चौथो शताब्दीका दार्शनिक विचारक तथा पश्चिमा विचारका एक जना संस्थापक प्लेटोको चर्चित आलेख ‘एल्लेगोरी अफ केभ’ ले यो द्विविधालाई थप प्रस्ट पार्न सक्छ । गुफाको अन्धाकारमा बसेका मानिस भित्तामा देखिने छायाको आधारमा वस्तुहरूको स्वरुपबारे अनुमान गर्छन् । उनीहरू त्यही छायालाई यथार्थ ठान्छन् । जब कोही एउटा गुफाबासी बन्धन तोडेर बाहिर निस्किन्छ, तब मात्र उसले खासमा संसार यथार्थ अर्कै रहेछ भन्ने थाहा पाउँछ । 
उदार व्यवस्थामा मानिस बोधको कठिन यात्रातर्फ लाग्छन् भन्ने आशा राखिएको हुन्छ । मानिसले आफूलाई शिक्षित बनाउनेछन् तथा आफ्नो स्वतन्त्रतालाई सक्रियतापूर्वक सम्हालेर अघि बढाउनेछ भन्ने ठानिएको हुन्छ । तर जब धर्म, राष्ट्रिय पहिचान तथा वैश्विक विचारहरू हराउँदै जाँन्छन् तथा शिक्षा र अभिमुखीकरण कमजोर हुँद जान्छ, त्यहाँ शून्यताको अवस्था सिर्जना हुन्छ । त्यही शून्यता भर्न लोकप्रियतावादीहरू तथा तानाशाहरू आइपुग्छन् । उनीहरू शासनको संकल्प बोकेर आएका हुन्छन् ।

आधुनिकताले प्राधिकार, कठोर सिद्धान्तहरू तथा सत्यलगायत धेरैजसो अवधारणाको विनिर्माण गरेको छ ।  मानिसलाई मिथकबाट मुक्ति दिन खोज्यो । तर यसका केही कमजोरीहरू पनि सँगै देखा परे । धेरै अवधारणाहरू नस्ट पार्दै गर्दा बाँकी रहेका विचार र अवधारणाले भने स्थायित्व दिन नसक्ने भए । 

नैतिकता, सिद्धान्त, मान्यता तथा चलिआएको व्यवस्थाजस्ता अवधारणाहरू बितेको युगका अवशेषजस्ता प्रतीत हुन थाले । यही अवस्थामा आइपुग्ने अधिनायकवाद खतराको रूपमा देखिँदैन । स्वतन्त्रताले जताततै अन्योल सिर्जना गरेको अवस्थामा अधिनायकवादले प्रस्टता दिलाउने प्रलोभन देखाउँछ ।  

यसरी आजका दिनमा उदारवाद विरोधाभाषपूर्ण अवस्थामा छ । बाहिरबाट लोकप्रियतावादी, तानाशाह तथा डिजिटल सम्भ्रान्तहरूले आक्रमण गरिरहेका छन् । तर यसको गहिरो संकट भने आफैभित्र छ । मानिसलाई मुक्त गराएर, भ्रमबाट बाहिर निकालेर सबै कुराको विनिर्माण गर्न सफल हुँदाहुँदै पनि उदारवादसँग आफैलाई एक ढिक्का बनाएर राख्ने विचारको भने अभाव छ ।

उदारवादको नियतिलाई लिएर स्ट्रास्ले दिएको चेतावनी अहिले अझै बढी सान्दर्भिक देखिन्छ । प्रश्नहरूको अर्थपूर्ण जवाफ दिन नसक्दा उदारवादले आफै अधिनायकवादी आकांक्षाको ढोका खोलिदिन्छ । मानिसलाई स्वतन्त्रता दिलाउनुमा यसको जीत थियो ।  

तर त्यही स्वतन्त्रता धेरै जनाले सामना गर्न नसक्नु वा नगर्नुचाहिँ उदारवादकै संकट बनेर देखा पर्‍यो । अबका दिनमा उदारवादले आफूलाई बजार, ध्यान भंग गराउने खेल तथा सापेक्षतावादभन्दा बाहिर निस्केर आफूलाई पुनर्परिभाषित गर्न सकेन भने अबको गन्तब्य तानाशाही व्यवस्था नै हुनेछ ।
courtesy: National interest

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति