काठमाडौं, २६ कात्तिक । भर्खरै सार्वजनिक एक सर्वेक्षणले मानिसहरूका लागि कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा सिर्जना गरिएको सङ्गीतबीचको भिन्नता छुट्याउन झन्डै असम्भव भइसकेको देखाएको छ ।फ्रान्समा रहेको सङ्गीत स्ट्रिमिङ प्लेटफर्म ुडिजरु का लागि ुपोलिङ फर्म इप्सोसु ले गरेको अध्ययनमा झन्डै ९ हजार सहभागीलाई एआईले पूर्णरूपमा उत्पन्न गरेको दुई वटा सङ्गीत क्लिप र मानवद्वारा सिर्जना गरिएको एउटा क्लिप सुन्न आग्रह गरिएको थियो ।नतिजा अनुसार सर्वेक्षणमा सहभागी ९७ प्रतिशत व्यक्तिले एआई निर्मित र मानव निर्मित सङ्गीतबीचको स्पष्ट भिन्नता छुट्याउन नसकेका सर्वेक्षणको निष्कर्षलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।गएको अक्टोबर ६ देखि १० सम्म ब्राजिल, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, जापान, नेदरल्यान्ड्स र अमेरिकामा सर्वेक्षण सञ्चालन भएको थियो ।
डिजरका अनुसार आधाभन्दा धेरै सहभागीहरूले फरक छुट्याउन नसक्दा आफूलाई ‘असहज’ महसुस गरेको बताएका थिए ।अध्ययनका क्रममा एआई प्रविधिको व्यापक प्रभावबारे पनि प्रश्नहरू सोधिएको खबरमा उल्लेख छ । झन्डै ५१ प्रतिशत उत्तरदाताले एआईका कारण स्ट्रिमिङ प्लेटफर्महरूमा ‘कम गुणस्तरको सङ्गीत’ बढ्ने विश्वास व्यक्त गरे भने झन्डै दुई तिहाइले यसले ‘सङ्गीतमा मौलिक रचनात्मकता घटाउने जोखिम’ रहेको धारणा राखे ।कम्पनीका अनुसार पछिल्ला महिनाहरूमा यसको प्लेटफर्ममा एआई निर्मित सामग्रीको अपलोड दर तीव्र गतिमा बढिरहेको छ र यस्ता गीतहरूले ठूलो सङ्ख्यामा स्रोता पनि पाएका छन् ।सन् २०२५ को जनवरीमा प्रत्येक दिन स्ट्रिम गरिएका १० मध्ये केवल एउटा ट्र्याक एआई निर्मित थियो तर १० महिनापछि त्यो अनुपात बढेर तीनमध्ये एक अर्थात् दैनिक झन्डै ४० हजार एआई गीतसम्म पुगेको छ ।सर्वेक्षणमा सहभागी ८० प्रतिशत उत्तरदाताले एआई निर्मित सङ्गीतलाई स्पष्ट रूपमा चिह्न लगाएर प्रस्तुत गर्नुपर्ने माग गरेका छन् । डिजर अहिलेसम्मको एकमात्र प्रमुख स्ट्रिमिङ प्लेटफर्म हो जसले आफ्ना प्रयोगकर्ताका लागि पूर्ण रूपमा एआई निर्मित सामग्रीलाई व्यवस्थित रूपमा लेबल गर्दै आएको छ ।यस वर्षको जुन महिनामा ुद भेलभेट सनडाउनु नामक एउटा ब्यान्डको गीत ुस्पोटिफाईु मा भाइरल भएपछि यो विषयले थप चर्चा पाएको थियो । पछि मात्र त्यो गीत वास्तवमा एआई निर्मित भएको पुष्टि भएको थियो ।यस घटनापछि स्पोटिफाईले कलाकार र प्रकाशकहरूलाई सङ्गीत निर्माणमा एआई प्रयोगबारे स्पष्ट खुलासा गर्न प्रोत्साहित गर्ने ‘स्वैच्छिक उद्योग आचारसंहिता’ मा हस्ताक्षर गर्न आग्रह गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया