काठमाडौं २४ कात्तिक, । नेकपा एमालेमा समाहित भएकी नेतृ रामकुमारी झांक्रीले आफू कुनै व्यक्तिगत अवसर र लाभका लागि एमालेमा नफर्किएको दाबी गरेकी छिन् ।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानमार्फत पार्टी प्रवेश गरेकी उनले सम्बोधनको क्रममा हजारौं पार्टी सदस्यहरूले प्राप्त गर्ने अवसरमा लामबद्ध हुन एमालेमा आएको बताइन् ।
‘सुस्केरा काढ्ने एउटै फलैचामा बसेकै राम्रो हुन्छ । बाँकी नौजवान साथीहरू आउनुस्, गोलबन्द बनौं । रामकुमारी झांक्री कुनै अवसर खोजेर न हिजो हिँडेको न आज हिँडेको,’ उनले भनिन्, ‘म आज भन्दैछु, सयौं आँखा र नेतृत्वको अगाडि कुनै अवसर होइन । अवसरहरू निर्माण गर्न हजारौं पार्टीका सदस्यहरूले अवसर प्राप्त गर्ने संघर्षमा लामबद्ध हुन आएको हुँ । व्यक्तिगत अवसर र लाभका लागि होइन ।’
देशमा भएको क्षतिको रिकभर गर्नका लागि एमाले नै उठ्नपर्ने बेला भएको जिकिर गरिन् ।
एमालेबाट विद्रोह गर्नु जीवनकै ठूलो भूलः किसान
एमालेमा समाहित भएका नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेबाट विद्रोह गर्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो भूल हुन पुगेको बताएका छन् ।
सोमबार एमालेले आयोजना गरेको घर फर्क अभियानमा आफू समाहित भएपछि गरेको सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन् ।
‘हामीजस्ता पार्टीमा फर्कनका लागि आउनुभएका साथीहरूको जीवनको सबैभन्दा सत्य क्षण हो । विगतमा विभिन्न कारणले हामी पार्टीमा विग्रहमा लागेका थियौं,’ उनले भने, ‘यो हाम्रो जीवनकै सबैभन्दा ठूलो भूल भयो । यो समयले पनि बताएको छ ।’
उनले पुनः जनताको भरोसा जित्नेगरी लाग्ने पनि दाबी गरे ।
‘हामी फेरि जनताको भरोसा जित्नेछौं । हामी फेरि राष्ट्र निर्माणको अग्रपंक्तिमा रहनेछौं । आज हामी हृदयबाट भन्न चाहन्छौं, यो फर्काइ केवल राजनीतिक निर्णय होइन । यो जनताको बीच फर्कने यात्राको सुरुवात हो,’ उनले भने ।
आज केही सयको संख्यामा अभियानमा जोडिएको भए पनि देशभर आफूजस्ता बाटो बिराएकाहरू पुनस् एमालेमा फर्कने दाबी गरे । ‘म विश्वास दिलाउन चाहन्छु यो अभियानको सुरुवातबाट देशभरी किसान श्रेष्ठजस्ता बाटो बिराएका कमरेडहरू यो अभियानमा जोडिनु हुनेछ,’ उनले भने ।
प्रतिक्रिया