रास्वपा बैठकः चुनावमा अन्य दलसँग गठबन्धन गर्ने, अध्यक्ष आयात नगर्ने

चितवन २१ कात्तिक । पुराना राजनीतिक दलहरूका गठबन्धनहरूमाथि आलोचनात्मक दृष्टिकोण राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी आफैंले भने आगामी चुनावका लागि अन्य राजनीतिक दल र संगठनहरूसँग चुनावी गठबन्धन गर्न सकिने प्रस्ताव अघि सारेको छ ।

सौराहामा आयोजित पार्टीको विस्तारित बैठकमा कार्यवहाक सभापति डिपी अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धन गर्न सक्ने प्रस्ताव ल्याएका हुन् ।

यस्तो गठबन्धन रास्वपाको मौलिक पहिचान गुम्नेगरी चाहिँ बनाउने नहुने उनको अवधारणा छ ।

‘नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक पार्टीहरूसँग निर्वाचनमा र निर्वाचनपछि सरकार गठनमा सहकार्य तथा गठबन्धन गर्न सकिनेछ भन्ने कुरा खुला राखिएको छ । तर, गठबन्धनका नाममा रास्वपाको पहिचानमा छायाँ पर्न दिइने छैन,’ कार्यबाहक सभापति अर्यालको प्रतिवेदनमा छ ।

प्रतिस्पर्धी दलहरूको आलोचना मात्र नगरी, आफ्ना नीति, कार्यक्रम र दृष्टिकोणलाई सकारात्मक तरिकाले प्रस्तुत गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

‘चुनावमा गठबन्धन गर्ने कि एक्लै लड्ने भन्नेबारे स्पष्ट रणनीति बनाउनुपर्छ । यसका फाइदा र बेफाइदाहरूको गहिरो विश्लेषण आवश्यक हुन्छ । कहिलेकाहीँ गठबन्धनले पार्टीको मौलिक पहिचान गुम्ने खतरा पनि रहन्छ,’ उनले भनेका छन् ।

‘अब आलोचना होइन योजना’

जनतासँगको संवादमा पारदर्शिता कायम गर्नुपर्ने प्रतिवेदनमा छ । ‘पार्टीका हरेक गतिविधि र निर्णयबारे जनतालाई सुसूचित गर्नुपर्छ । अब ‘आलोचना होइन, योजना’ भन्ने नाराका साथ अभियान सञ्चालन गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।

मूलधारका मिडिया र सामाजिक सञ्जाल दुवैमा पार्टीको उपस्थितिलाई सशक्त बनाउनुपर्ने उनको धारणा छ ।

आफूलाई निर्विकल्प शक्तिको रुपमा उभ्याई किसान, मजदुर, युवा तथा महिलाहरू लगायत आम नेपाली जनताको समस्या हल गरी समृद्धिको यात्रालाई रफ्तारमा कुदाउन रास्वपाले समान विचार, उद्देश्य, कार्यशैली भएका अन्य साना दल, समूह वा स्वतन्त्र व्यक्तिलाई एकताबद्ध गरी नयाँ राजनीतिक ध्रुवीकरणको पहल गरिरहेको पनि उनले जानकारी दिएका छन् ।

‘कमजोरीबाट पाठ सिकौं’

विगतका कमीकमजोरीबाट पाठ सिक्दै आफ्नो शक्ति र कमजोरीको यथार्थपरक विश्लेषण गरी राजनीतिक, सामाजिक, आर्थिक र प्राविधिक पक्षका सानाभन्दा साना विषयलाई ध्यानमा राखेर चुनावी तयारी गर्नुपर्ने रास्वपाको धारणा छ ।

‘आउँदो चुनावमा हामीले उत्साहजनक र नेतृत्वदायी परिणाम ल्याउन सकेनौं भने देशले पुरानै दलहरूको कुशासनको भारी खेप्नुपर्छ भने तिनले जेनजी आन्दोलनको म्यान्डेट र जनताको भावना विपरीत मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्नेछन्,’ उनले भनेका छन् ।

आउँदो चुनाव प्रतिगामी र अग्रगामीबीचको निर्णायक संघर्ष रहेकाले चुनावी तयारी र परिणाममा कुनै पनि कोणबाट कमजोर हुने छुट आफूहरूलाई नरहेको उनले उल्लेख गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले चर्चित व्यक्ति भित्र्याउने नाममा पार्टीमा नेतृत्वको आयात गर्न नसकिने धारणा अघि सारेको छ ।

कुलमान घिसिङ लगायतका व्यक्तिहरुलाई पनि जोडेर लैजाने विषयमा पटक(पटक आन्तरिक छलफल भइरहेको सन्दर्भमा मूल नेतृत्वको रूपमा त्यस्ता व्यक्ति ल्याउन नसकिने धारणा रास्वपाले ल्याएको हो ।

पार्टीको चितवनको सौराहामा जारी विस्तारित वैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्दै रास्वपाका सभापति रवि लामिछानेकै नेतृत्वको निरन्तरताको वकालत गरेका हुन् ।

‘पार्टी रिफर्म’ गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्तिरव्यक्तित्वलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने जायज कुरामा शतप्रतिशत सहमत हुँदा(हुँदै पनि ‘रिफर्म’ वा ‘स्वागत’ को बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन ।’

उनले अहिलेको नेतृत्वलाई विस्थापित नभइ स्थापित गरेर जानुपर्ने उल्लेख गरेका छन् ।

रास्वपाका धेरै नेताहरूले वैकल्पिक शक्तिको रूपमा उदाइरहेका समूह र व्यक्तिहरूलाई पार्टीमा जोड्नका लागि अनौपचारिक छलफल गरिरहेको थियो । त्यसक्रममा घिसिङ लगायतसँग रास्वपाले छलफल गरेको थियो । तर घिसिङ लगायतका व्यक्तिहरूले पार्टीको नेतृत्व नै दाबी गरेको भन्ने चर्चा भइरहेका बेला रास्वपाभित्र यसलाई स्वीकार्न नसक्ने भन्ने औपचारिक राजनीतिक प्रतिवेदन नै तयार भएको हो ।

अर्यालले पार्टी ‘रिफर्म’ को आवाज र यथार्थ शीर्षकमा छुट्टै बुँदा नै राजनीतिक प्रतिवेदनमा राखेका र नेतृत्वको निरन्तरताको बारेमा प्रस्ताव गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति