काठमाडौं १५ कात्तिक । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी सहितका अन्य ७ घटकबीच आगामी १८ गते एकता गर्ने भएको छ ।
शनिबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले पार्टी एकता अनुमोदन गर्नका लागि १७ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । उपमहासचिव हरिबोल गजुरेलले कात्तिक १७ गते बस्ने गरि बैठक बोलाएको बताए।
त्यस्तै बैठक स्थलबारे भने खोजी जारी रहेको बताए। गजुरेलले एकीकृत समाजवादीसँग कात्तिक १८ गते एकता हुने समेत दाबी गरे।
उनले भने, ‘एकता हुने भयो। १७ गते हाम्रो बैठक बोलाएको छ। एकता १८ गते हुने भन्ने छ।’
माओवाद केन्द्रका नेता अग्नि प्रसाद सापकोटाका अनुसार, एकता गर्ने गरी टुंगो लागेका पार्टीको संख्या सात वटा छ ।
जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, बाबुराम भट्टराई नेतृत्वको पार्टीमा विद्रोह गरेर बनेको महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

यसका अलावा नेकपा एमालेमा विद्रोह गरेर बनेको प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी र विप्लवको पार्टीमा विद्रोह भएर बनेको चिरण सी नेतृत्वको समूह एकता प्रक्रियामा सहभागी हुने टुंगो लागेको हो ।
एकताको विषयमा छलफल गर्न शनिबार माओवादी केन्द्रको पार्टीको सचिवालय बैठक नै राखेको थियो । बैठकपछि सापकोटाले एकताबारे नै छलफल भएको बताए ।
‘वैचारिक, राजनीतिक, सैद्धान्तिक र नीतिगत कुराहरू करिब–करिब कुरा फाइनल भइसकेको छ । आज प्रावधिक र सांगठनिक कुरामा छलफल भएको छ,’ सापकोटाले भने ।
नेताहरूका अनुसार, एकतापछि बन्ने पार्टीको नेतृत्वमा प्रचण्ड रहनेछन् । तत्काललाई प्रचण्डलाई संयोजक र माधवकुमार नेपाललाई सहसंयोजक तोकेर जानेगरी छलफल चलिरहेको छ ।
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले शुक्रबार मात्रै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो । भोलिपल्टै माओवादीको सचिवालय बैठक बसेको हो । एकताको निर्णय अनुमोदनका लागि माओवादले यही कात्तिक १७ गते केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ ।
सचिवालय बैठकपछि प्रचण्डले एकता प्रक्रियामा रहेका दलहरूको एकता सभा एक साताभित्रै भइसक्ने बताएका छन् । उनका अनुसार एकता प्रक्रियामा रहेका दलहरूभित्र फरकमत राख्नेसँग समेत छलफल चलिरहेको छ । सबै एकताबद्ध भएर एकतामा जाँदै गरेको उनले बताएका छन् ।
प्रतिक्रिया