केपी ओलीलाई हटाएर एमाले बनाउन सकिदैन : अधिकारी

काठमाडौं २२ असोज । नेकपा एमालेका नेता खगराज अधिकारीले देशको सुरक्षा निकाय डिप स्टेट होल्डरसँग बिकेको आरोप लगाएका छन् । नेकपा एमाले पोखरा महानगर कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका उनले नेपाली सेना, प्रहरीलगायतका चारवटै सुरक्षा निकाय डिप स्टेट होल्डरसँग बिकेको बताएका हुन् ।

केही समुन्द्र पारीका र केही छिमेकी डिप स्टेट होल्डरहरुका कारण अहिलेका अवस्था सिर्जना भएको उनको आरोप छ । उनले भने,‘यसमा हाम्रा चारवटै सुरक्षा निकाय सेना, प्रहरी, अनुसन्धान र सशस्त्र प्रहरी पनि बिके ।’

देश पछिल्लो अवस्थामा जाँदैछ भन्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिल्यै थाहा भएको उनले दाबी गरे । उनले भने,‘तत्कालीन प्रधानमन्त्री ओलीलाई यो कुरा थाहा थियो, त्यसैले उनले परिस्थिति होल्ड गर्न कोशिष गरेका पनि थिए तर सुरक्षा निकालयले साथ नदिँदा राजीनामा गर्न बाध्य भए ।’

अधिकारीले सेना अझै पनि लोकतान्त्रीकरण नभएको आरोप लगाए । ‘हामीले राज्य भनेको मन्त्री भनेर बुझ्यौं र बुझायौँ’, उनले भने, ‘तर राज्यसत्ता भनेको सेना, प्रहरी, अड्डा, अदालत हो । सेनाप्रति विश्वास नगरीकन पनि भएन । सिंहदरबार जल्दा सेना हेरिरह्यो ।’ डिप स्टेट होल्डरले गरेको आक्रमणको मतियार एमालेका कार्यकर्ता र सदस्य हुन नहुने उनले बताए ।

उनले जेनजी आन्दोलनका बेला तत्कालीन प्रधानमन्त्री ओलीले गोली हान्ने आदेश नदिएको दाबी गरे । ‘गोली हान्ने आदेश प्रधानमन्त्रीले दिँदैन, गोली हान्ने आदेश जिल्ला सुरक्षा समितिले गर्छ’, उनले अगाडि थपे, ‘केपी ओलीले गोली हान्ने आदेश दियो भनेर कल्पना गर्न सक्छौं हामी रु सरकारका पालामा चाहिं भएको हो भन्न सकिन्छ ।’

उनले जेनजी आन्दोलनका अगुवाले नै घुसपैठीयाले तोडफोड र आगजनी गरेको भनेकाले गोली पनि उनीहरुकै कारणले भएको हुनसक्ने संकेत गरे ।

नेता अधिकारीले अध्यक्ष ओलीलाई समातेर देखाउन चुनौती दिए । ओलीलाई समाते एमाले पंक्ति र खास गरेर कास्की एमालेले जुलुश निकाल्नेदेखि एमाले जिन्दावाद भन्दै नारा लगाउने उद्घोष गरे । अध्यक्ष ओलीलाई बिस्थापित गरेर पार्टी बनाउन नसकिने पनि उनले दावी गरे । ‘ओलीलाई पहिले हटाउनु पर्छ अनि हामी पार्टी पुर्नगठन गर्छौं भन्ने नादानी कुरा अहिले भइरहेको छ’, उनले भने, ‘हाम्रो शैली, जीवनशैली सच्चिनु पर्छ, त्यो ठीक छ तर केपी ओली बिनाको एमाले बनाउन सकिदैन । ओलीलाई बिस्थापित गरेर एमाले बन्दैन ।’

अधिकारीले अब पार्टी चुनावमा होमिने बताए । ‘फाल्गुण २१ गते चुनाव हुँदैछ’, उनले भने, ‘अब हामी चुनावको तयारी गरौं ।’

कार्यकर्ता भेलामा सहभागीहरुले एमाले सच्चिनुपर्ने भन्दै आवाज उठाएका थिए । जेनजी आन्दोलनले धेरै कुरा सिकाएको भन्दै उनीहरुले पार्टी सच्चिएर परिस्कृत हुनुपर्नेमा जोड दिएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति