डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम

काठमाडौं १२ असोज,। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम दिएको छ ।

आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले १७ कात्तिकभित्र बक्यौता बुझाउन उद्योगीहरुलाई अल्टिमेटम दिएको हो ।

डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत उपयोग गरेवापत २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत् महसुल बाँकी रहेका ग्राहकले तोकिएको अवधिभित्र बक्यौता बुझाउनु पर्ने भएको छ ।

यसअघि बक्यौता रहेका ग्राहकलाई प्रशासकीय पुनरावलोकनका लागि जेठ २०८२ भित्र निवेदन दिन सक्ने म्याद कायम भएको थियो । सोही अनुसार २०८२ वैशाख २६ र ३० गते सूचना प्रकाशित भएको थियो ।

प्राधिकरण सञ्चालक समितिको १० असोजको बैठकले म्याद कायम गर्ने निर्णय र प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सबै काम कारवाही बन्द गरेका कारण अब उद्योगीहरुले पुर्वनिर्धारित शूल्क अनुसार नै बक्यौता तिर्नुपर्ने भएको छ ।

प्राधिकरणका अनुसार पछिल्लो समय २९ कात्तिक २०८१ मा गोरखापत्रमा प्रकाशित सूचना अनुसार बक्यौता तिर्नुपर्ने छ । सो सूचनामा टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टाइम इन्टर्भलमा रेकर्ड भएको खपत इनर्जीका आधारमा गणना भएको बिल अनुसारको बक्यौता तिर्नुपर्ने छ ।

प्राधिकरणका अनुसार उद्योगीले किस्ताबन्दीमा बिल तिर्न चाहेमा भने २८ किस्ताको सुविधा दिइने छ । सो अवधि भित्र बक्यौता बुझाउन नआए कानून अनुसार कारवाही हुने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति