सीटीईभीटीमा विद्यार्थीको गुनासो सुन्ने शाखा राख्न शिक्षामन्त्री पुनको निर्देशन

काठमाडौं ९ असोज ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सीटीईभीटीका अध्यक्ष महावीर पुनले विद्यार्थीको गुनासो सुन्ने शाखा स्थापना गर्न बिहीबार निर्देशन दिएका छन् ।

बिहीबारको बैठकमा उनले ४ बुँदे निर्देशन दिएका हुन् । ‘सीटीईभीटी कार्यालयमा विद्यार्थी, अभिभावक र शिक्षकहरुको गुनासो सुन्ने र प्राप्त गुनासोको अभिलेखीकरण/सम्बोधन गर्ने शाखा तुरुन्त बनाउने र सञ्चालनमा ल्याउने निर्देशन दिएको छु,’ पुनले सामाजिक सञ्जालमा लेखेका छन् । पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्नसमेत उनले निर्देशन दिएका छन् । एकीकृत क्यालेन्डर बनाउन र परीक्षाको परीक्षाफल ३ महिनाभित्र अनिवार्य रुपमा प्रकाशन गर्ने व्यवस्था गर्न पुनले निर्देशन दिएका हुन् ।

त्यस्तै २०६९ सालदेखि अहिलेसम्म सीटीईभीटीबाट प्राविधिक शिक्षालय सञ्चालन गर्न सम्बन्धनका लागि प्राप्त भएका आवेदनहरु छानबिन गर्न उनले भनेका छन् । छानबिन गरी असोज मसान्तभित्र प्रतिवेदन पेस गर्न र सम्बन्धन दिने/नदिने निर्णय गर्न उनले सीटीईभीटीलाई ताकेता गरेका हुन् ।

शिक्षामन्त्री नियुक्त भएपछि यसअघि उनले ३ बुँदे निर्देशन दिएका थिए । सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको व्यवस्था गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयको झाडी फडानी गरी बगैंचा बनाउनुपर्ने निर्देशनमा उल्लेख थियो । 

मन्त्री पुन मातहतको निकायको ब्रिफिङ सुन्न पछिल्ला दिनहरुमा व्यस्त छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति