काठमाडौँ, १० मंसिर । नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् ।
सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८ हजार १०७ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।
उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ र नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मत ल्याए ।
यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग दश हजार मतान्तरले पराजित भएका केसी यो पटक खतिवडाभन्दा १२ हजार ५६४ मतान्तरले निर्वाचित भएका हुन् ।
यही मंसिर ४ मा भएको निर्वाचनमा खसेको कुल ७७ हजार चार मतको आज बिहान सम्पन्न गणनाको नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झनक प्याकुरेलले एक हजार ५७१ मत ल्याएका छन् भने चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित ११ मध्ये अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।
प्रतिक्रिया