हिमाल पारी कांग्रेसको एकलौटी

पोखरा, ६ मंसिर । हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा यो निर्वाचन कांग्रेसको पक्षमा परेका छन् । मुस्ताङको प्रतिनिधिसभा र प्रदेशसभाका तीनै सिट तथा मनाङको प्रतिनिधिसभा र प्रदेशसभाको एक सिटमा कांग्रेस उम्मेदवार विजयी भए । मनाङको एउटा क्षेत्रमा भने स्वतन्त्र उम्मेदवार सर्वसम्मत भएका थिए । 

मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका २९ वर्षे योगेश गौचन थकाली विजयी भए । उनले ३ हजार ९९२ मत पाउँदा प्रतिस्पर्धी एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत मात्रै पाएका छन् । प्रदेश सभा (क) बाट कांग्रेसकै नम्डु गुरुङ विजयी भए । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिस्पर्धी एमाले इन्द्रधारा विष्टले ७ सय ९३ मत पाए । 

प्रदेश (ख) मा कांग्रेसका विकल शेरचन निर्वाचित हुँदा एमालेका चन्द्रमोहन गौचन पराजित भए । उनले गौचनलाई १ सय ५८ मत अन्तरले हराएका हुन् । शेरचनले २ हजार ७ सय २३ मत ल्याए भने गौचनले २ हजार ५ सय ६५ मत पाए । योसँगै मुस्ताङमा कांग्रेसले क्लिन स्वीप पारेको छ । 

मनाङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसकै टेकबहादुर गुरुङ विजयी भए । निवर्तमान सांसद एमालेका पोल्देन छोपाङ गुरुङलाई ३३८ मत अन्तरले हराए । टेक बहादुरले २ हजार ५७५ मत पाउँदा पोल्देनले २ हजार २ सय ४७ मत पाएका छन् । 

प्रदेश सभा (क) मा कांग्रेसकै मुनिन्द्र जंग गुरुङले चुनाव जिते । मुनिन्द्रले एमालेका राजन गुरुङलाई ३३० मत अन्तरले हराए । मुनिन्द्रको १ हजार २५५ मत आउँदा राजनले ९२५ मत मात्रै पाए । मनाङको प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ उर्फ दीपक मनाङे सांसद बनिसकेका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति