निर्धक्कसँग मताधिकार प्रयोग गर्न मतदाताहरूलाई आयोगको आह्वान

काठमाडौँ, ३ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिइ आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन् ।

आयोगमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत् उनले संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहीत सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

उनले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत् शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले वैधता र सुनिश्चितता प्रदान गर्ने भएकाले आफ्नो मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्न आग्रह गरेका हुन् ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घन्टा अगाडिबाट सुरू भएको प्रचारप्रसार निषेधको अवधिमा कानुन पालनामा आयोगले विशेष सजगता अपनाएको बताए ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट सुक्ष्म अनुगमन भइरहेको उनको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिइ आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवम् परिचालित हुने वातावरण बनाउन दृढ संकल्पित रहेकाले सबैको सकरात्मक सहयोग र इमान्दार प्रयत्न हुनेमा विश्वास व्यक्त गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति