उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ?

काठमाडौँ, ३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदै छ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी ५५० पदका लागि ११ हजार ५४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार १८९ पुरुष र २२५ महिला गरी कुल दुई हजार ४१२ तथा समानुपातिकतर्फ एक हजार १२ पुरुष र एक हजार १८७ महिला गरी कुल दुई हजार १९९ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेशसभाको प्रत्यक्षतर्फ दुई हजार ९४३ पुरुष, २८० महिला र एक अन्य गरी कुल तीन हजार २२४ तथा समानुपातिकतर्फ दुई हजार १९७ पुरुष र एक हजार ५११ महिला गरी कुल तीन हजार ७०८ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला र एक सय ८५ अन्य गरी कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम छन् । आयोगले मतदाता सूचीमा नाम समावेश भएका यही मंसिर ३ गतेसम्म १८ वर्ष पूरा हुने बालिग मतदाताले मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

काठमाडौँ उपत्यकामा मात्रै ५२७ मतदानस्थलमा एक हजार २७९ मतदान केन्द्र तोकिएको छ । काठमाडौँमा ३२० मतदानस्थल र ७६७ मतदान केन्द, भक्तपुरमा ७६ मतदानस्थल र २२२ मतदान केन्द्र तथा ललितपुरमा ७६ मतदानस्थल र २९० मतदान केन्द्र रहेको छ । काठमाडौँ १०, ललितपुरमा तीन र भक्तपुरमा दुई निर्वाचन क्षेत्र छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा २२ मतदानस्थलमा ५२ मतदान केन्द्र, काठमाडौँ २ मा ४० मतदानस्थलमा ९५ मतदान केन्द्र, काठमाडौँ ३ मा २९ मतदानस्थलमा ६८ मतदान केन्द्र, काठमाडौँ ४ मा ३३ मतदानस्थलमा ८२ मतदान केन्द्र तथा काठमाडौँ ५ मा ३१ मतदानस्थलमा ८१ वटा मतदान केन्द्र छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा ३२ मतदानस्थलमा ७५ मतदान केन्द्र, काठमाडौँ ७ मा २९ मतदानस्थलमा ७१ मतदान केन्द्र, काठमाडौँ ८ मा २३ मतदानस्थल र ६१ मतदान केन्द्र, काठमाडौँ ९ मा ३४ मतदानस्थलमा ८५ केन्द्र तथा काठमाडौँ क्षेत्र नम्बर १० मा ४७ मतदानस्थलमा ९७ वटा मतदान केन्द्र छन् ।

यस्तै, ललितपुर क्षेत्र नम्बर १ मा ५३ मतदानस्थल र ९१ केन्द्र, ललितपुर २ मा ३९ मतदानस्थलमा ९३ केन्द्र र ललितपुर ३ मा ३९ मतदानस्थलमा एक सय पाँच मतदान केन्द्र तथा भक्तपुर १ मा ३७ मतदानस्थल र एक सय १५ मतदान केन्द्र र भक्तपुर २ मा ३९ मतदानस्थल र एक सय ७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

काठमाडौँमा तीन लाख १५ हजार २५४ पुरुष, तीन लाख ३६ हजार ८६४ महिला र आठ अन्य गरी कुल छ लाख ५२ हजार १२६ मतदाता रहेको छन् । ललितपुरमा एक लाख २२ हजार २७४ पुरुष, एक लाख २८ हजार १३५ महिला र एक अन्य गरी दुई लाख ५० हजार ४१० मतदाता छन् । भक्तपुरमा ९४ हजार ६८३ पुरुष, ९९ हजार ७५१ महिला र पाँच अन्य गरी कुल एक लाख ९४ हजार ४३९ मतदाता रहेको आयोगको तथ्यांक छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति