निर्वाचनका लागि ३४ हजार ८३८ सशस्त्र प्रहरी परिचालन

काठमाडौँ, ३ मंसिर । आगामी मंसिर ४ गते देशभर हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन हुने भएको छ ।

निर्वाचनमा दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित रूपमा सम्पन्न गर्नका लागि देशभर उक्त सङ्ख्यामा जनशक्ति परिचालन गरेको हो ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमान्डमा निर्वाचन क्षेत्र सुरक्षा बेस तयार गरेको जानकारी दिए । जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको सुरक्षा गर्ने जिम्मा पाएको सशस्त्र प्रहरीले मोबाइल गस्ती, स्ट्राइकिङ, रिजर्भ र क्युआरटीसमेत खडा गरेको छ । यस्तै, जिल्ला कमान्ड पोष्ट, निर्वाचन सेलमा समेत सशस्त्रको टोली खटिने प्रवक्ता थापाले बताए ।

निर्वाचन नजिकिएसँगै सशस्त्र प्रहरीले सीमा नाकामा तैनाथी बढाउनाका साथै स्थिर अवधिमा हुनसक्ने निर्वाचन विरोधी गतिविधिको सूचना संकलनसमेत गरिरहेको छ । निर्वाचनका लागि गए राति १२ बजदेखि ७२ घन्टाका लागि सीमा नाका सिल भइसकेको छ । निर्वाचनको दिनमा सुरक्षित वातावरणमा आम मतदातालाई मतदान गर्ने व्यवस्था मिलाउनका लागि सशस्त्र प्रहरी मतदान केन्द्र र मतदानस्थलको बाहिरी घेरामा खटिनेछ । सशस्त्र प्रहरीले मतदान सकिएसँगै मतपेटिकालाई सुरक्षित तवरले मतगणनास्थलसम्म लैजानका लागि नेपाल प्रहरी र म्यादी प्रहरीलाई सघाउने छ ।

यस्तै, मतगणना सुरु भएपछि मतगणनास्थलको बाह्य घेराको सुरक्षाको जिम्मेवारीसमेत सशस्त्र प्रहरीले लिएको प्रवक्ता थापाले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति