कैदीबन्दीका लागि कारागारमा छुट्टै मतदान केन्द्र

लमजुङ, २८ कात्तिक । अघिल्लो निर्वाचनमा मतदानबाट वञ्चित कैदीबन्दीले यसपटक प्रतिनिधिसभातर्फ राजनीतिक दललाई मतदान गर्न पाउने भएका छन् । मतदान गर्न कैदीबन्दीका लागि जिल्ला कारागार कार्यालय, लमजुङमा अस्थायी मतदान केन्द्र रहने भएको छ । 

यस्तै निर्वाचनमा नखटिने कर्मचारी, सदरमुकाम केन्द्रित कर्मचारीले जिल्ला समन्वय समितिको अस्थायी मतदान केन्द्रमा मतदान गर्न सकिने जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

उनका अनुसार फोटोसहितका मतदाता नामावलीमा नाम संकलन भएका १६ जना कैदीबन्दी यसपटकको निर्वाचनमा भाग लिनेछन् । कर्मचारी, सुरक्षाकर्मीलगायत ६४० जनाको नामावली आएको र यो बढ्न सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।

कर्मचारी, सुरक्षाकर्मी, संस्थानका कर्मचारीले निर्वाचनमा भाग लिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । सूचीकृत भएका कर्मचारी, सुरक्षाकर्मीलगायतले आफू खटिएकै ठाउँको मतदान केन्द्रबाट संघीय संसद्का लागि समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउने मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । 

मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा समानुपातिकतर्फ अस्थायी मतदाताले मतदान गर्न पाउने व्यवस्था यसपटक गरिएको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति