घोराही, २८ कात्तिक । घोराही क्षेत्रमा रहेका सेवानिवृत्त भारतीय सैनिकहरूले दाङ क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारहरूलाई समर्थन गरेका छन्।उनीहरूले गठबन्धनका उम्मेदवारहरूलाई औपचारिक कार्यक्रम गरेर स्वागत गर्दै समर्थन गरेका हुन् ।
कार्यक्रम बोल्दै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराले मंसिर ४ गतेपछि पाँचै वर्ष गठबन्धनको सरकार बन्ने बताए । उनले संविधान रक्षा र मुलुकको आर्थिक समृद्धिका गठबन्धन निर्माण भएकाले जनताले साथ दिने विश्वास गरे ।
‘यो निर्वाचन क्षेत्रमा रेखा शर्मासहित गठबन्धनका उम्मेदवारहरू विजयको नजिक हुनुहुन्छ,’ महराले भने, ‘दाङको विकासको नेतृत्व पनि गठबन्धनले नै गर्ने छ।’ उनले प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ वटा निर्वाचन क्षेत्रमा अहिले गठबन्धनका उम्मेदवार एमालेका उम्मेदवारभन्दा निकै अघि भएको बताए । उनले दाङ निर्वाचन क्षेत्र नम्बर २ मा शंकर पोखरेलभन्दा शर्माको माहोल निकै राम्रो भएको जानकारी दिए ।
‘मैले एमालेका धेरै नेता कार्यकर्ताहरूलाई पनि भेटेको छु, उहाँहरू पनि अहिले गठबन्धनको पक्षमा देखिनुभएको छ,’ महराले भने, ‘गठबन्धन दलहरूबीच पनि राम्रो एकता देखिएको छ।’
मंसिर ४ गतेपछि एमाले पाँचै वर्ष सरकार बाहिर रहने उल्लेख गर्दै महराले गठबन्धनले देशको समृद्धिको नेतृत्व गर्ने धारणा व्यक्त गरे ।
‘गत स्थानीय तहको निर्वाचनमा यो निर्वाचन क्षेत्रका २७ वटा वडाको मत विश्लेषण गर्ने हो भने गठबन्धन निकै अगाडि छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनको बेलाभन्दा अहिले गठबन्धनको एकता थप मजबुत भएको छ।’
एमाले दाङका पुराना तथा इमान्दार नेता कार्यकर्ताहरूमा तीव्र असन्तुष्टि भएको उल्लेख गर्दै महराले त्यो मत गठबन्धनका उम्मेदवारलाई आउने दाबी गरे । ‘एमालेका साथीहरूले पनि मत हाल्ने देखिएको छ,’ उनले भने, ‘प्रतिगमन विरुद्धको गठबन्धनलाई आम जनसमुदायको साथ रहने छ।’
आफू प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकको कुनै पनि उम्मेदवार नभएको उल्लेख गर्दै महराले नयाँ तथा युवा पुस्तालाई अवसर दिन आफूले त्याग गरेको बताए। ‘मैले लामो समय संसदीय र राजकीय भूमिकामा रहेर काम गरेको छु,’ उनले भने, ‘अब अरू साथीहरूलाई अवसर दिनुपर्छ भनेर निर्वाचनमा नउठेको हुँ।’
प्रतिनिधिसभा दाङ २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले यो निर्वाचनमा मतदाताले संविधान रक्षा र लोकतन्त्रको पक्षधर शक्तिलाई विजयी गराउने धारणा व्यक्त गरिन् ।
‘अहिले केपी ओली, राजेन्द्र लिङ्देन, कमल थापाहरूको गठबन्धन पनि निर्माण भएको छ,’ शर्माले भनिन्, ‘कांग्रेस, माओवादी र एकीकृत समाजवादीको अगुवाइमा गणतन्त्र र संविधानको रक्षा गर्ने शक्तिहरूको गठबन्धन भएको छ।’
उनले समृद्ध र स्थायित्व आम जनताको चाहना भएकाले त्यो प्राप्तिका लागि गठबन्धनलाई मतदान गर्ने विश्वास गरिन् । शर्माले एमालेका इमान्दार नेता कार्यकर्ताले पनि गठबन्धनलाई मतदान गर्ने बताइन्।
प्रतिक्रिया