काठमाडौँ, २६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा.प्रकाशचन्द्र लोहनीले अग्रगमनका नाममा जनताले दिएको राज्यशक्तिलाई नेताहरूले दुरूपयोग गरेको आरोप लगाएका छन् ।
काठमाडौँको बसन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको शक्तिबाट प्राप्त राज्यशक्तिकै दुरूपयोग गरेर जनताविरूद्ध नै प्रयोग गरेको आरोप लगाए । यदि कसैले दुरूपयोग भयो भन्यो भने पश्चगामीको आरोप लगाउने गरेको उनको भनाइ छ ।
“यदि कसैले राज्यशक्तिको दुरूपयोग भयो भन्यो भने एउटा कथा रचिएको छ । कथा के हो भने यी त पश्चगामी भए । पश्चगामी भए भन्ने कथा रचिएको छ,” उनले भने, “हामीलाई यस्तो भन्ने साथीहरूलाई सोध्न चाहन्छु– संविधानको निरन्त उल्लंघन गर्नु अग्रगामी हो ? संविधान निरन्तर उल्लंघन भएको छ । नियुक्ति र लाइसेन्स दिइएको छ । सत्तामा पुगेर शक्तिको सदुपयोग भयो ? के त्यहीँ हो अग्रगमन भनेको ?”
यसबारे राप्रपाले जबाफ खोजेको भन्दै उनले पैसा लिएर भागबन्डा गर्नेलाई पनि अग्रगमन हो भन्दै प्रश्न गरे । प्रतिस्पर्धी राजनीतिक दलप्रति आक्रोश व्यक्त गरेका उनले राजदूत नियुक्तिमा पनि पैसाको लेनदेन हुने गरेको आरोप लगाए ।
प्रतिक्रिया