गोकर्ण विष्टले भने– चुनावपछि एकीकृत समाजवादीको पसल बन्द हुन्छ

बुटवल, १९ कात्तिक । नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री गोकर्ण विष्टले आगामी निर्वाचनपछि नेकपा (एकीकृत समाजवादी) पार्टी नामको खुद्रा पसल बन्द हुने प्रतिक्रिया दिएका छन् ।

शुक्रबार बुटवलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै विष्टले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँगको गठबन्धनको भरमा केही स्थानमा भाग पाएर अहिलेको चुनावमा उम्मेदवारी दिए पनि चुनावपछि उक्त पार्टीको भविष्य नभएको दाबी गरे ।

गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा पदका उम्मेदवार रहेका विष्टले कुनैपनि राजनीतिक दलभित्र नेता र कार्यकर्ताबीच सामान्य विवाद र अन्तरविरोध हुनु सामान्य भए पनि त्यही अन्तरविरोधका कारण पार्टी विभाजित गरिनु गलत भएको टिप्पणी गरे ।

“पार्टीभित्र विवाद र अन्तरविरोध हुनु स्वभाविक हो तर छलफलबाट विवाद र अन्तरविरोधलाई समाधान गर्नुको साटो पार्टीलाई विभाजित गरिनु गलत हो त्यसको जबाफ निर्वाचनपछि जनताले दिने छन्,” उनले भने ।

विष्टले गुल्मी क्षेत्र नम्बर २ मा यसअघि पार्टी छोडेर अन्यत्र लागेकाहरू एमालेमा फर्किने क्रम बढ्दै गएको भन्दै निर्वाचनमा आफ्नो प्रतिस्पर्धीसमेत कोही नभएको दाबी गरे ।

“नेकपा (एमाले)ले लोकतन्त्र स्थापना, संविधान निर्माण, राष्ट्र र राष्ट्रियताको रक्षा तथा जनजिविकाको सवालमा लिएको बाटो तथा मैले विगतमा गुल्मीबाट प्रतिनिधित्व गरेपछि त्यहाँ गरेका विकास निर्माणका प्रयासहरूका कारण मेरो प्रतिस्पर्धी कोही छैन,” उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति