सन्दीप लामिछानेविरूद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने

काठमाडौँ, १८ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । बुधबारदेखि सुरू भएको थुनछेक बहस बिहीबार पनि नसकिएका कारण मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा भएको थुनछेक बहसमा बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र अधिवक्ता सुवास पाठकले बहस गरेका थिए ।

सबैजसो अधिवक्ताहरूले सन्दीप निर्दोष रहेको, बलात्कार भएको पुष्टि गर्ने कुनै प्रमाण नभएको जिकिर गर्दै तत्काल रिहा हुनुपर्ने माग राखेका थिए । उनीहरूले बलात्कार गरेको कुनै ठोस प्रमाण अभियोजनमा नभएको दाबी गर्दै आफ्नो पक्ष निर्दोष रहेको जिकिर गरे । बलात्कार भन्दै दाबी गरिए पनि घटनास्थल मुचुल्कामा केही नभएको, डाक्टरको रिपोर्टले समेत बलात्कार पुष्टि गर्ने कुनै आधार नदिएको सन्दीपका वकिलको तर्क छ ।

बिहीबार बहस गर्दै पूर्वमहान्यायाधीवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले उमेरमा विवाद भएपछि जुन पहिलो लिएको छ, त्यसैलाई आधार मान्नु पर्ने तर्क गरे । उनले बहसका क्रममा निजामती सेवा ऐन पढ्दै भने, “उमेरको विषयमा विवाद भएमा जुन पहिले लिएको हो त्यसैलाई आधार मानिने छ । यसका केही उदाहरण पनि छन् ।”

उमेर विवादमा यसअघि अदालतबाटै भएका फैसलाका केही उदाहरण समेत श्रेष्ठले दिएका थिए ।

१७ वर्षीया किशोरीलाई बलात्कार पगरेको आरोपमा पक्राउ परेका सन्दीपविरूद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो । मंगलबार सन्दीपले अदालतमा बयान दिएका थिए भने बुधबारदेखि थुनछेक बहस सुरू भएको थियो ।

लामिछानेविरूद्ध मुलुकी अपराध संहिता, ०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । जसमा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सोहीअनुसार लामिछानेविरूद्ध अधिकतम १२ वर्ष जेल सजायको माग दाबी गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति