होटेलमा आगलागी

हेटौँडा, ११ कात्तिक । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्क नजिक तरकारीको थोक बजारसँग जोडिएको होटेलमा आज दिउँसो आगलागी भएपछि ग्यास सिलिन्डर पड्किएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएपछि एकपछि अर्कोगरी पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको हो ।

आगलागीको घटनापछि हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकलले एक घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीबाट तरकारीको थोक बजारमा केही क्षति पुगेको छ ।

प्रहरीले आगलागीबाट मानवीय क्षति नभएको र होटेलमा पूर्णरूपमा क्षति पुगेको तथा भौतिक क्षतिको विवरण आई नसकेको जानकारी दिएको छ । होटेल मालिक मीना साहले गरगहना र नगदसहित करिब २० लाखको क्षति भएको बताइन् । प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति