आज खण्डग्रास सूर्यग्रहण, नेपालमा ३२ मिनेट मात्रै लाग्ने

काठमाडौँ, ८ कात्तिक । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए ।

‘मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । कात्तिक कुष्ण औँसीको दिन लाग्ने यो ग्रहणलाई चमत्कारी ग्रहण पनि मानिएको छ । पर्व विशेषको कारणले यो ग्रहणको धेरै दोष हुँदैन,’ उनले भने ।

दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण करिब ३२ मिनेट मात्र लाग्ने भएकाले यसलाई शुभ ग्रहणको रुपमा पनि लिइएको जानकारी दिएका उनले सूर्यास्तसँगै ग्रमण सकिए पनि दोष भने साँझ ७ः३० बजेसम्म रहने बताए । नेपालमा ४ बजेर ५२ मिनेटमा सकिने ग्रहण अन्य देशमा भने साँझ साढे ७ बजेसम्म रहने छ ।

सूर्य ग्रहणको सूतक १२ घण्टा अगाडिबाटै बार्नुपर्ने भएकाले मंगलबार बिहान ४ बजेर ५२ मिनेटदेखि कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान नहुने शास्त्रीय मान्यता रहेको ज्योतिषी रिजालले बताए ।

उनका अनुसार १२ घण्टाको अन्तरालमा बालक, वृद्धवृद्धा र अशक्त, बिरामीहरुले भने अन्न खान मिल्ने छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यानलगायतका साधना गरेमा शुभ हुने धार्मिक विश्वास छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति