काठमाडौँ, ७ कात्तिक । मंसिर ४ को निर्वाचन आउन अझै २८ दिन बाँकी छ । तर, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेताका लागि सूचना नै निकालेको छ ।
लामिछाने सभापति रहेको यो पार्टीले मंसिर ४ को निर्वाचनका लागि प्रतिनिधिसभामा मात्रै उम्मेदवारी दिएको छ ।
लामिछाने सभापति रहेको स्वतन्त्र पार्टीले चुनावभन्दा अघि नै संसदीय दलको नेता छान्न उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ ।
पार्टीका महामन्त्री मुकुल ढकालले शनिबार आन्तरिक सर्कुलर गर्दै संसदीय दलको नेता उठ्न चाहनेलाई लिखित निवेदन दिन भनेका छन् । संसदीय दलको नेता उठ्न प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारले पाउने व्यवस्था विधानको उक्त पार्टीको विधानको दफा ७२ को १ मा उल्लेख छ । पार्टीका सम्पूर्ण साधारण सदस्यहरूले संसदीय दलको नेता चयनका लागि मतदान गर्न पाउने व्यवस्था गरिएको स्वतन्त्र पार्टीले जनाएको छ ।
स्वतन्त्र पार्टीले विधानमा यसरी संसदीय दलको नेता चयन गर्न राखेको प्रावधान भने कानुनविपरीत हुुने देखिन्छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा २४ मा दुई स्थानमा निर्वाचित भइ प्रतिनिधित्व गर्ने दलले संसदीय दल गठन गर्ने प्रावधान राखेको छ । जबकि स्वतन्त्र पार्टीले चुनावसमेत नभइ संसदीय दल चुन्न लागेको छ ।
यो पार्टीले सोमबार साँझ ५ बजेसम्म दलको नेताका लागि इच्छुकहरूलाई आवेदन दिन भनेको हो । तर, दलको नेता मंसिर ४ पछि या अघि नै छान्ने कुरा पक्का भएको छैन ।
लामिछानेको पार्टीले सदस्यको मतदानबाट संसदीय दलको नेता चयन हुन लागि खसेको कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधान गरेको छ । कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच चुनाव गरेर धेरै मत ल्याउने व्यक्ति नै संंसदीय दलको नेता हुने उक्त पार्टीको विधानको व्यवस्था छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा २छ मा सांंसदहरूले आफूमध्येबाट एक जनालाई दलको नेता निर्वाचित गर्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया