गठबन्धनलाई हार्ने छुट छैन : मन्त्री गहतराज

अगैया, ६ कात्तिक । बाँकेमा पाँच दलीय गठबन्धनले चुनावी अभियानलाई तीव्र पारिएको छ । गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका उम्मेदवार रहेकायुवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) शनिबार बाँके आएलगत्तै चुनावी अभियानलाई सशक्त पारिएको हो ।

गृहजिल्ला आएलगत्तै उनले शनिबार आफ्नो निर्वाचन क्षेत्रमा पुगेर भेटघाटलाई तिव्रता दिएका छन् । राप्ती सोनारी २ अगैयामा निर्वाचन परिचालन कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले परिवर्तनकारी शक्तिबीच भएको गठबन्धनले संविधान र व्यवस्थाको रक्षा गर्ने बताए ।

प्रतिगमनकारीबाट संविधान र ब्यवस्था नै संकटमा परेकाले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत पाँच दलबीच गठबन्धन गर्नुपरेको उल्लेख गर्दै मन्त्री अथकले परिवर्तनको नेतृत्व गरेका पार्टीहरूबीच भएको गठबन्धनलाई हार्ने छुट नभएको बताए ।

तथाकथित राष्ट्रवादी, प्रतिगामीले गठबन्धनलाई असफल गराउने प्रयास गरिरहेकाले सचेत हुनसमेत उनले गठबन्धनमा आवद्ध कार्यकर्तालाई आग्रह गरे । व्यवस्था बदलियो, अब जनताको अवस्था बदल्न जरुरी छ, पाँच दलीय गठबन्धनभित्रका सबै दलले सबैको अस्तित्वलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

आफ्नो पाँच वर्षे कार्यकालमा क्षेत्र नम्बर १ को विकास गर्दा पक्षपात नगरेर काम गरेको अथकको भनाइ छ । ‘क्षेत्र नम्बर १ का विद्यालयको शैक्षिक सुधार कार्यक्रमका साथै यहाँको आधारभूत आवश्यकता, सडक, बिजुली, सिंचाइ, खानेपानी, पुल पुलेसा, कटान तथा डुवान नियन्त्रण गर्न उल्लेखनीय काम भएका छन्,’ उनले भने ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण आफू समयमै निर्वाचन क्षेत्रमा पुग्न नसकेकोमा खेलकुद मन्त्री गहतराजले क्षमा मागेका थिए । पुरानो अनुभव र नयाँ उत्साहका साथ जिम्मेवारी पूरा गर्ने प्रतिबद्धतासमेत उनले जनाएका छन् ।

बाँके जिल्लाको पिछडिएको क्षेत्रका रूपमा रहेको बाँके निर्वाचन क्षेत्र नम्बर १ मा देखिने खालका काम भएको मन्त्री गहतराजले बताए ।

चुनाव जित्नु ठुलो कुरा नभएको बताउँदै उनले मुलुकप्रतिको इमान्दारिता सबैभन्दा ठुलो कुरा भएको धारणा राखे । उनले थपे, ‘आजको व्यवस्थाप्रति माओवादी र कांग्रेसलाई जति माया छ, त्यो अरू दललाई छैन ।’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा १ ‘क’ का उम्मेदवार कृष्णा केसी नमुनाले व्यक्तिभन्दा गठबन्धनको आवश्यकताले उम्मेदवार छनोट भएकाले गठबन्धका सबै उम्मेदवारलाई जिताउन आग्रह गरिन् । गठबन्धनको मर्मभन्दा बाहिर नजानसमेत उनले सबै नेता कार्यकर्तालाई आग्रह गरिन् । उनले गएको पाँच वर्षमा विकासको आधार तयार पारिएको दाबी गर्दै केही काम बाँकी रहेको र केही पाइप लाइनमा भएको बताइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति