नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन आज : उदघाटनमा नै ३ करोड खर्च !

काठमाडौँ, २८ असोज । गण्डकी प्रदेशमा नेपाली खेलकुदको कुम्भमेला शुक्रबारदेखि सुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएसँगै उपराष्ट्रपति नन्दकिशोर पुनले नवौँ सुरु भएको घोषणा गर्ने छन् ।

कास्कीको पोखरा रंगशालाबाट नवौँ बृहत् राष्ट्रिय खेलकुद महोत्सव औपचारिक रूपमा सुरु हुँदा कुल ६ हजार १ सय २ खेलाडीले ३६ खेलका इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्धामा ३९३ स्वर्ण, ३९३ रजत र ६ सय कांस्य पदकको छिनोफानो हुने छ ।

सात प्रदेशका साथै तीन विभागीय टोलीहरु नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब तथा सशस्त्र प्रहरी बलको एपिएफसँगै अघिल्लो संस्करणदेखि थपिएको गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को टोली गरि ११ टोलीले नवौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका छन् ।

पोखरामा दोस्रो पटक आयोजना हुने लागेको राष्ट्रिय खेलकुदलाई नेपाल सरकारले ८० करोड बजेट छुट्टाएको छ । उद्घाटन समारोहमा मात्रै तीन करोड खर्च हुने बताइएको छ । उद्घाटन सत्रमा सबै प्रदेशको संस्कृति झल्किने प्रस्तुति गर्ने बताएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै स्थानीय १९ विद्यालयका विद्यार्थीले व्यावसायिक कलाकारलाई प्रस्तुतिमा साथ दिनेछन् । शिव परियार, रचना रिमाल, आनन्द कार्की र कुन्ती मोक्तानलगायतका लोकप्रिय कलाकारले गीत गाउने कार्यक्रम रहेको छ ।

२०७६ सालमा नेपालगञ्जमा आठौँ राष्ट्रिय खेलकुदको समापनका अवसरमा २०७८ सालमा गण्डकी प्रदेशमा नवौँ संस्करण गर्ने घोषणाका साथ झण्डा हस्तान्तरण गरिएको थियो । तर, विभिन्न बाहना बन्दा प्रतियोगिता निर्धारित समयमा हुन सकेन ।

बृहत राष्ट्रिय खेलकुदमा प्रदर्शनी सहित ३८ खेल हुँदै गर्दा पुरुष क्रिकेट अघिल्लो महिना नै काठमाडौंमा सकिसकेको छ । यसैगरी महिला क्रिकेट, फुटबल, हक्की, ह्यान्डबल, बुद्धिचाल र फेन्सिङका खेलहरु सुरु भइसकेका छन् ।

¥याफ्टिङ एन्ड कनोइङ, मुवाथाई, पेनकेक सिलात, हाप्किडोलगायतका खेललाई प्रदर्शनी खेलका रुपमा नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको छ । पूर्वाधार अभावका कारण सुटिङको प्रतियोगिता काठमाडौँमा हुने छ । यसैगरी आर्चरी, एथ्लेटिक्स, ब्याड्मिन्टन, पुरुष बास्केटबल, बक्सिङ, महिला क्रिकेट, फेन्सिङ, पुरुष फुटबल, जिम्न्यास्टिक, ह्यान्डबल, खो खो, लन टेनिस, सफ्ट टेनिस, स्क्वास, पुरुष भलिबल र उसु पोरख रंगशालामा हुने छन् । पुरुष फुटबलका सुरुआति केही खेल भने पोखराकै गोस्टेघाटमा हुने छन् । यसपछि पोखरा रंगशालामै हुने बताइएको छ ।

यसैगरी महिला फुटबल स्याङजाको वालिङ, महिला भलिबल र तेक्वान्दो म्याग्दी, महिला बास्केटबल तनहुँ, फुलकन्ट्याक्ट कराँते र जुडो पोखराको प्रदर्शनी हल, शारीरिक सुगठन पोखरा सभागृह, बुद्धिचाल गोर्खा, पौडी पोखराको फिस्टेल एकेडेमी, टेबल टेनिस पोखराकै कोल्मा बाहकोट समाज हल, सेपाक ताक्रो र कुस्ती नवलपुर, महिला हक्की पोखरा लामाचौर, पुरुष हक्की ह्याम्जा, भारोत्तोलन पोखरा उद्योग वाणिज्य संघ, गल्फ पोखराको हिमालयन गल्फ कोर्स, साइक्लिङ पोखराको रानीबन, ट्रायथलन पोखरा लेकसाइड, प्याराग्लाइडिङ पोखरा साराङकोट, रग्बी भण्डारढिक पोखरा, कबड्डी पोखरा माटेपानी, कराँते पर्वत, आइटिएफ तेक्वान्दो बाग्लुङमा हुने छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति