काठमाडौँ, २७ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिन विलम्ब गर्न नहुने बताएका छन् ।
“गैरआवासीय नेपालीलाई नागरिकता दिन विलम्ब हुन नहुने थियो,” उनले भने, “यो विषयलाई निर्वाचनपछि समाधान गर्छौँ गैरआवासीय नेपालीलाई तुरून्त नागरिकता उपलब्ध गराइने छ ।”
गैरआवासीय नेपाली दिवस एवम् गैरआवासीय नेपाली संघको वार्षिक साधारणसभाको आज काठमाडौँमा समापन गर्दै उनले आफूले सरकारको नेतृत्व गरेको समयमा गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन नागरिकता विधेयक अगाडि बढाउन खोजे पनि सत्ता साझेदारका कारण निर्णायार्थ प्रस्तुत गर्न नसकेको जिकिर गरे । “गैरआवासीय नेपालीका माग स्वभाविक छन् । मैले त्यसलाई समर्थन गर्दै आइरहेको छु,” उनले भने ।
गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि लगानी गर्न आह्वान गर्दै उनले लगानीको व्यवधान हटाइने प्रतिबद्धता व्यक्त गरे । “गैरआवासीय नेपालीलाई नेपालमा लगानीका लागि सहज ढंगको वातावरण बनाइने छ । लगानीको प्रक्रियालाई सरलीकृत गरिने छ,” उनले भने ।
प्रवासी नेपालीलाई जहाँ भएपनि मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगले प्रयास गरिरहेको उल्लेख गर्दै उनले नेपाली जहाँ भए पनि मताधिकारको प्रयोग गर्न पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको बताए । उनले भूकम्प, नाकाबन्दी तथा कोरोना महामारीमा गैरआवासीय नेपालीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
प्रतिक्रिया