रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौँ, २६ असोज । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय भोगिरहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । उनको उम्मेदवारीविरूद्ध नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थले उजुरी दिएपछि छानबिन थालिएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयल बर्दियाका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णय भएको बताए । लम्सालका अनुसार चौधरी २०७४ फागुनदेखि निरन्तर कैदमा रहेको पत्र काठमाडौँस्थित डिल्लीबजार कारागारले पठाएको थियो ।

त्यसैगरी उच्च अदालत डोटीले पनि रेशम चौधरी दोषी ठहर भएको पत्र पठाएको थियो । त्यहीकारण चौधरी प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ (झ) अनुसार उम्मेदवारका लागि अयोग्य भएको उनले बताए ।

यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका थरूहट नेता लक्ष्मण चौधरी (थारू)को उम्मेदवारी खारेज भएको थियो ।

टीकापुर हत्याकाण्डका मुख्य पात्रका रूपमा दोषी ठहर भएर डिल्ली बजार जेलमा रहेका चौधरीले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका थिए ।

उनले यही आइतबार वारेसनामामार्फत् प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका थिए । उनको उम्मेदवारी नागरिक उन्मुक्ति पार्टीका जग्गुप्रसाद चौधरीले दर्ता गराएका थिए ।

उनी २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट लोकप्रिय मतसहित निर्वाचित भएका थिए । उनले सांसदको रूपमा शपथ लिए पनि संसद्‌मा प्रवेश गर्न पाएनन् ।

उनले आफ्नो पाँच वर्षे सांसदको कार्यकाल जेलमै बसेर बिताएका छन् । टीकापुरकाण्डपछि भारतमा लुकेर बसेका उनी सांसद निर्वाचित भएपछि नेपाल आएका थिए ।

प्रतिनिधिसभा निर्वाचन ऐनको दफा १३ को उपदफा (झ)मा कैदमा बसेकोमा कैद बसेको अवधिभर उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति