लुम्विनीमा विकासका योजना पूरा गर्न मेरो उम्मेदवारी : विष्णु पौडेल

रुपन्देही २५ असोज। नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधि सभाका उम्मेदवार विष्णु पौडेलले रुपन्देहीको विकासमा सुरु भएका महत्त्वपूर्ण योजनाहरू अझै पनि केही अपूरा रहेकाले त्यी योजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताए ।

रुपन्देहीको आर्थिक, सामाजिक विकासका लागि अझै पनि मेगा प्रोजेक्ट यस क्षेत्रमा आवश्यक रहेको भन्दै ती योजनाहरूको कार्यान्वयन र कतिपय निर्माणको अवस्था रहेको योजनालाई पूर्णता दिन आफू निर्वाचनमा उठेको उनले बताए ।

सोमबार एमाले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन रुपन्देही क्षेत्र नं। २ को निर्वाचन प्रचार प्रसार कार्यालय सोमबार उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।

नेता पौडेलले काली गण्डकी तिनाउ डाइभर्सन आयोजना, तिनाउ दानव कोरिडोर, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि पहल तथा मोतीपुर औद्योगिक क्षेत्र निर्माणलाई आफू निर्वाचित भएपछि छिटो पहल गरेर निर्माणको कार्यलाई तीव्रता दिने बताए ।

बुटवल मेडिकल कलेज बुटवल–तिलोत्तमा–सैनामैनालाई जोडेर मेगासिटी निर्माण, झुम्सा खानेपानी आयोजना, सिद्धबाबा सुरुङ मार्ग निर्माण र समग्र रुपन्देहीलाई आर्थिक हबको रूपमा विकास गर्न आफू प्रतिबद्ध भएर लाग्ने उनले प्रतिबद्धता गरेका छन् ।

रुपन्देही क्षेत्र नं. २ प्रदेशसभा क तर्फका उम्मेदवार लीला गिरीले पूर्वाधार विकास सँगै मानवीय विकासको लागि आफूहरूको उम्मेदवारी रहेको बताए ।

प्रदेश सभा ख का उम्मेदवार भोजप्रसाद श्रेष्ठले यस क्षेत्रमा भएका सडक, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका बाँकी कार्यलाई आफू निर्वाचित भएपछि पूरा गर्ने बताए । सो अवसरमा निर्वाचन परिचालन कमिटीसमेत घोषणा गरिएको थियो ।

रुपन्देही क्षेत्र नं. २ मा एमालेलाई राप्रपाले समर्थन गरेको छ । यो क्षेत्रमा पौडेलसँगै सत्तारुढ गठबन्धन दलबाट नेकपा एसका राजु गुरुङको उम्मेदवारी रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति