टिकट विवादले राष्ट्रियसभामा एमालेको एक सिट गुम्यो, खिमलालको हातमा न टिकट न सांसद पद

काठमाडौँ, २५ असोज । नेकपा (एमाले)ले राष्ट्रियसभामा एक सिट गुमाएको छ । रूपन्देही–५ मा प्रतिनिधिसभा निर्वाचनका लागि भएको टिकट विवादमा एमालेले राष्ट्रियसभाको एक सिट गुमाएको हो ।

एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राष्ट्रियसभाको सांसद पदबाट राजीनामा दिँदै रूपन्देही–५ बाट उम्मेदवारी दर्ता गराएका थिए । जबकि त्यसअघि नै एमालेबाट रूपन्देही–५ मा बासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका थिए ।

उक्त निर्वाचन क्षेत्रमा एमालेबाट निर्वाचन लड्नका लागि शनिबार अपरान्ह एमाले लुम्बिनी प्रदेश सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्वनगरप्रमुख वासुदेव घिमिरेलाई टिकट दिएकोमा आइतबार दिउँसो उनको टिकट खोसेर भट्टराईलाई दिएको थियो ।

शनिबार पार्टीको आधिकारिक पत्र बुझेका घिमिरेले आइतबार अपरान्ह साढे ३ बजे मनोनयन दर्ता गरेपछि अपरान्ह पौने पाँच बजे एमाले पोलिटब्युरो सदस्यसमेत रहेका भट्टराईले अर्को पत्र पेस गर्दै आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।

निर्वाचन कार्यालयमा आइतबार दुवैको उम्मेदवारी दर्ता भएको थियो ।

एमालेले निर्वाचन कार्यालयलाई पत्र पठाएर घिमिरेको उम्मेदवारी भुलबस भएको उल्लेख गर्दै भट्टराईलाई मान्यता दिएको थियो । तर, निर्वाचन कार्यालयले पहिला दर्ता भएको उम्मेदवारको उम्मेदवारी मान्य हुने निर्णय गर्दै घिमिरेको उम्मेदवारी कायम गरिदिएको छ । योसँगै एमालेका भट्टराईले निर्वाचनको टिकट र राष्ट्रियसभाको सांसद दुवै गुमाएका छन् ।

एमालेको नेतृत्वले समयमै विचार नपुर्‍याउँदा राष्ट्रियसभामा एमाले खुम्चन पुगेको हो । योसँगै राष्ट्रियसभामा एमालेका सांसदको संख्या १६ मा झरेको छ । भट्टराई राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक थिए । प्रमुख सचेतकको हैसियतमा उनले राज्यमन्त्री सरह सुविधा पाउँदै आएका थिए ।

५९ सदस्यीय राष्ट्रियसभामा अब नेकपा (एमाले)का १६ सांसद भएका छन् भने नेकपा (माओवादी केन्द्र)का १५ सांसद, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का ८, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद १ जना छन् । त्यस्तै, राष्ट्रिपतिबाट ३ जना मनोनीत छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति