देशभर एमालेबाट को–को बागी उठे ?

काठमार्डां २४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा टिकट नपाएपछि प्रभावशाली नेताले नै विद्रोह गरेका छन् । एमालेका पूर्व उपमहासचिव घनश्याम भुसालले रुपन्देही १ मा एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । शनिबार एमाले परित्यागका गरेका नेता भुसालले आइतबार स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई सत्ता गठबन्धनले समर्थन गरेको छ ।

नेकपा एमालेबाट टिकट नपाएपछि निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौँ क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । एमालेले काठमाडौँ – ७ मा श्याम घिमिरेलाई टिकट दिएको छ ।

स्याङ्जा–२ मा एमाले सचिव पद्मा अर्यालविरुद्ध कपिलदेव न्यौपानेले बागी उम्मेदवारी दिएका छन् । एमाले–जसपा गठबन्धनका उम्मेदवार प्रमोद साहविरुद्ध सर्लाहीमा एमालेका मानबहादुर खड्काले बागी उम्मेदवारी हालेका छन् ।

दैलेख –१ मा प्रतिनिधि सभाको लागि एमालेका गोपाल नेपालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमालेले रवीन्द्रराज शर्मालाई आधिकारिक उम्मेदवार बनाएपछि नेपालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै एमालेकी नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। एमालेले दाङ–१ मा शान्ता चौधरीलाई टिकट दिएपछि उनले सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।

यस्तै एमाले धादिङका पूर्व अध्यक्ष तथा पुराना कम्युनिस्ट नेता नेत्रराज पौडेलले धादिङ १ को ९क० मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीले युवा नेता रमेश आचार्यलाई टिकट दिएपछि पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । आचार्यले लामो समय एमाले अध्यक्ष केपी शर्माका स्वकीय सचिवको भूमिकामा काम गरेका थिए ।

रुपन्देही ५ मा पनि एमालेमा दुई जनाको उम्मेदवारी परेको छ । नेता खिमलाल भट्टराईविरुद्ध तिलोत्तमा नगरपालिकाका निवर्तमान नगरप्रमुख वासुदेव घिमिरेले बागी उम्मेदवारी दिएका छन् । सुरुमा घिमिरेलाई दिएको टिकट खोसेर भट्टराईलाई दिएपछि घिमिरे समर्थक आक्रोशित बनेका छन् ।

मनोनयनको केही समय अघि मात्रै वासुदेव घिमिरेको टिकट खोसिएको भए पनि घिमिरेले मनोनयन गरेका छन् । एमालेका जगन्नाथ बास्तोलाले कास्की ३ मा पनि बागी उम्मेदवारी दर्ता गराएका छन् । एमालेले प्रतिनिधिसभा कास्की ३ मा दामोदर वैरागीलाई उम्मेदवार बनाएको छ । वैरागीविरुद्ध बास्तोलाले दिउँसो उम्मेदवारी दर्ता गराएका थिए ।

नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ९क० बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेले उक्त निर्वाचन क्षेत्रबाट यसअघिका संघीय सांसद लालबहादुर थापालाई टिकट दिएको छ । सर्लाही १ मा एमालेमा मानबहादुर खड्काको बागी उम्मेदवारी परेको छ ।

सुर्खेत निर्वाचन – १ को प्रदेश सभा ९ख० मा एमालेका डण्डीप्रसाद शर्माविरुद खड्क बहादुर खत्रीले बागी उम्मेदवारी दिएका छन् ।

खत्रीले आइतबार मेहेलकुनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्मा विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति