काठमाडौं । सर्लाहीमा नेपाली कांग्रेसभित्र विवाद बढेको छ । पार्टीको केन्द्रीय निर्णयको पक्ष–विपक्षमा नेताहरू उभिएका छन् । विशेष गरेर सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा विवादले उग्र रूप लिएको छ ।
सर्लाही–४ बाट पार्टी महामन्त्री गगन थापालाई उमेदवार बनाउने चर्चा गहिरिएको थियो । तर, गगनले आफैँ त्यहाँ जान अस्वीकार गरे । गगन सर्लाही–४ बाट पार्टीभित्र एकल सिफारिस भएका थिए ।
अहिले पार्टीले नागेन्द्र रायलाई टिकट दिने निर्णय गरेको छ । आफू आइतबार दिउँसो २ बजेपछि उमेदवारी दर्ता गराउन जाने तयारीमा रहेको रायले बताए । उनी निवर्तमान जिल्ला सभापति तथा समानुपातिक सांसद हुन् ।
राय संस्थापननिकट नेता हुन् । रायले टिकट पाएपछि अर्का खेमाका नेता अमरेशकुमार सिंह असन्तुष्ट बनेका छन् । सिंह ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट सांसद बनेका थिए । तर, उनको नाम सिफारिस समेत गरिएको थिएन । प्रदेश समितिमा निवेदन दिएर सिफारिसमा परे पनि उनले टिकट पाएनन् ।
टिकट खोसिएसँगै सिंह स्वतन्त्र उमेदवारी दिने तयारीमा छन् । दिउँसो १ बजे गएर उमेदवारी दर्ता गराउने तयारी गरिएको उनका एक सहयोगीले जानकारी दिए ।
“अहिले साथीहरूसँग छलफलमा हुनुहुन्छ । हामी १ बजे स्वतन्त्र उमेदवारी दर्ता गर्न जाँदै छौँ,” ती सहयोगीले भने ।
प्रतिक्रिया