काठमाडौँ, २३ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारबाट तीन जना चुनावी मैदानमा उत्रिएका छन् । प्रचण्ड अहिले गोरखा–२ बाट चुनाव लड्ने तयारीमा छन् । चितवनबाट यसअघि निर्वाचित प्रचण्डले त्यहाँ असुरक्षित भएपछि गोरखा लागेका हुन् ।
गोरखामा समेत कांग्रेसकी माधवी भट्ट बागी उम्मेदवार उठ्ने निश्चित भइसकेको छ ।
प्रचण्डकी बुहारी बिना मगर कञ्चनपुर क्षेत्र नम्बर १ बाट गठबन्धनको उम्मेदवार छिन् । उनी खानेपानीमन्त्री समेत भइसकेकी छन् । प्रचण्डले आफ्ना कान्छा जुवाइँ जीवन आचार्यलाई समेत प्रदेशसभाको टिकट दिएका छन् । उनले मोरङ क्षेत्र नम्बर ६ ‘क’बाट टिकट पाएका हुन् ।
माओवादी आन्दोलमा खासै योगदान नभएका आचार्य पहिले कांग्रेस समर्थक थिए । उनी २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदासमेत कांग्रेसका उम्मेदवार चुमनारायण दबदारसँग पराजित भएका थिए । तबदार अहिले कांग्रेसको प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा छन् ।
मोरङबाट क्षेत्र नम्बर ४ मा माओवादीका अमनलाल मोदी र ५ बाट शिवकुमार मण्डल उम्मेदवार भएका छन् । मोरङको क्षेत्र नम्बर १ ‘क’बाट कुशल लिम्बू र २ को ‘क’ बाट गणेश उप्रेतीले टिकट पाएका छन् ।
प्रतिक्रिया