धनगढी, २१ असोज । नेपाली कांग्रेसबाट कारबाहीमा परेका नेता पुष्करनाथ ओझाले कैलाली–५ बाट संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । क्षेत्र नम्बर–५ का नागरिक र स्वयं आफ्नो आत्म सम्मानका लागि स्वतन्त्र उम्मेदवारी दिने उनको भनाइ छ ।
‘नेतृत्वको टिको लगाएर, झोलामा टन्न पैसा ल्याएर चुनाव जितिन्छ भन्ने भ्रम देखियो,’ उनले भने, ‘पैसामा यस क्षेत्रका नागरिकको आत्म सम्मान विक्दैन भन्ने पुष्टि गर्न मैले उम्मेदवारी दिन लागेको हुँ, त्यो उम्मेदवारी स्वयं मेरो आत्म सम्मानका लागि पनि हुने छ ।’ तर आफू दलको विरुद्ध भने नभएको उनले बताए । आफू दल बनाउन लागेको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिनु आफ्नो बाध्यता भएको बताए ।
‘कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक कैलाली–५ अरुका लागि छोड्नुपर्ने कारण मैले देखेको छैन,’ उनले भने, ‘यदि उहाँ यस क्षेत्रबाट चुनाव लडेको भए म पछि हट्ने थिए, तर त्यसतो अवस्था देखिएन, अन्तिम समयसम्म पनि कांग्रेसले मलाई उम्मेदवार बनाउछ भन्ने आशामा छु ।’
उनले कांग्रेसबाट आधिकारिक उम्मेदवार बन्ने सम्भावना नरहेको भए पनि मनोनयनको अन्तिम समयसम्म पनि त्यो आसा भने नत्याग्ने बताए ।
२०७० को उपनिर्वाचनमा कैलाली–५ बाट निर्वाचन जितेका नेता पुष्करनाथ ओझालाई २०७४ को निर्वाचनमा असहयोग गरेको भन्दै कांग्रेसको अनुशासन विभागले ५ वर्षका लागि कारबाही गरेको थियो । २०७४ को निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नि आरजु देउवा कैलाली–५ बाट निर्वाचन लडेकि थिइन्, उनी तत्कालीन नेकपाका उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् । आरजु पराजय हुनुको कारण पार्टी भित्रैबाट घात भएको र सो कार्यमा ओझाले महत्वपूर्ण भूमिका खेलेको छानबिन समितिको निष्कर्ष रहेको थियो ।
कैलाली–५ बाट कांग्रेसका तर्फबाट निवर्तमान प्रदेशसभा सदस्य डिल्लीराज पन्तले टिकट पाउने सम्भावना रहेको छ । उनी ५ दलीय गठबन्धनका साझा उम्मेदवार बन्ने छन् । यसैगरी नेकपा (एमाले)बाट निर्वतमान प्रतिनिधिसभा सदस्य नारमुनी रानाले टिकट पाएका छन् । स्थानीय निर्वाचनबाट कैलालीमा बलियो देखिएको नागरिक उन्मुक्ति पार्टीबाट सो पार्टीका वरिष्ट नेता लक्ष्मण थारुले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया