बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

bमहिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षका नेताहरुको चर्को दबाब सुरु भएको पाइएको छ ।

सत्ता र सक्तिको आडमा गतवर्ष मंसिर ४ गते खानिखोला पुगेका प्रहरी निरीक्षक ढुंगानालाई छुटाउन सार्वजनिक लेखा समितिका पूर्वसभापति भरतकुमार शाहसहित नेपाली कांग्रेसका नेताहरुले प्रहरी प्रधान कार्यालयमार्फत् दबाब दिन थालेका छन् । कांग्रेस नेता शाह रुपन्देही क्षेत्र नम्बर ५ बाट २०७४ सालको निर्वाचनमा विजयी सांसद हुन् । उनी अहिले पनि सोही क्षेत्रबाट उम्मेदवार बन्दै छन् ।

धादिङका एक प्रहरी अधिकृतका अनुसार ढुंगानालाई मिलाएर मुद्दा चलाउन र सहज बनाउन दबाब दिँदै शाहलगायत बालुवाटारबाट समेत पटक पटक फोन आउने गरेको छ । धादिङका प्रहरी उपरीक्षक राकेश सिंहले फोनबाट आउने दबाबका कारण काम गर्नै नसक्ने अवस्थामा पुगेको गुनासो गर्न थालेको प्रहरी अधिकृतहरु बताउँछन् ।

ढुंगाना सार्वजनिक लेखा समितिका पूर्वसभापति भरत कुमार शाहकी श्रीमती कांग्रेस रुपन्देहीकी उपसभापति अनिता ढुंगाना शाहका सहोदर भाइ हुन् । भरतकुमार शाह प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका अति निकटस्थ हुन् ।

यतिमात्रै होइन लम्जुङको सुन्दरबजार नगरपालिका घर भइ काठमाडौँ बसोबास गर्दै आएका ढुंगाना कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका नजिकका आफन्तसमेत भएकाले प्रहरीमा पटक पटक आकर्षक पोष्टिङ पाउँदै आएको प्रहरीभित्र ब्यापक चर्चा हुने गरेको छ । उनलाई सहज हुने वातावरण बनाउन पौडेलसमेत सक्रिय रहेको पाइएको छ ।

धादिङका एक प्रहरी अधिकारीका अनुसार यसअघि पनि एकजना महिला प्रहरी अधिकृतमाथि जवर्जस्ती करणी प्रयत्न गरेको मौखिक उजुरी थियो तर ढुंगानाले बालुवाटारको शक्ति प्रयोग गरेर ती अधिकृतलाई सरुवा मात्रै गराएनन् यो विषय उठाए जुनसकुै बेला जे पनि हुन सक्ने भन्दै धम्की दिएका थिए ।

“ढुंगाना सरको खानिखोलामै यसपटक तेश्रो पटक हो, उहाँलाई मापसे गरेपछि नियन्त्रण गर्न गाह्रो हुँदो रहेछ,” ती प्रहरी अधिकृतले भने । राति एक बजे घटना घटाएर बिहान काठमाडौँ पुगेका ढुंगानालाई गएको शनिबार साँझदेखि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धान सुरु गरेको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति