हिमपहिरोमा परेर मृत्यु भएका राईको शव काठमाडौँ लगियो

गोरखा, १२ असोज । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिराेमा परी मृत्यु भएका सङ्खुवासभाका ३४ वर्षीय अनुप राईको शव हेलिकोप्टरमा काठमाडौँ लगिएको छ ।

लामो प्रयासपछि राईको शव हेलिकोप्टरमार्फत राजधानी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

मौसममा सुधार आएपछि राईको शव हेलिकोप्टरमा काठमाडौँ लैजान सहज भएको हो । खोँचमा रहेको शव निकाल्न दिनभर प्रयास गरिएको थियो । उनले भने, “मौसम प्रतिकूलताका कारण हेलिकोप्टर हिमपहिरो गएको ठाउँमा पुग्न कठिन भएको थियो, साँझपख मौसममा सुधार आएपछि शव हिउँबाट निकाल्न सहज भएको हो ।”

राईको शव सामागाउँ ल्याई मुचुल्का तयार पारेर काठमाडौँ पठाइएको लामिछानेले बताए । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

मनास्लु आधार शिविरमा सोमबार गएको हिमपहिरामा परेर १३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये १२ जनाको सकुशल उद्धार गरिएको थियो । राईलाई भने बचाउन सकिएको थिएन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति