छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जना घाइते

काठमाडौँ, १० असोज । देशका विभिन्न स्थानमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

ललितपुरको बालकुमारीमा हिजो मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिँदा चालकसहित २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मोटरसाइकल चालक ललितपुर खोकनाका २३ वर्षीय नवीन मर्हजन र पैदलयत्री रौतहट घर भएका ४५ वर्षीय बयाजु पटेल रहेका छन् । घाइते दुवैको बि एण्ड बी अस्पताल ग्वार्कोमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चालक महर्जनको अवस्था गम्भीर रहेको छ । आइतबार साँझ सवा ७ बजे बा १९ प १८२२ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएर पल्टिएको प्रहरी प्रभाग बालकुमारीले जनाएको छ ।

बाराको फेटा गाउँपालिका १ भलुही चोकमा गएराति म्याजीक भ्यानले मोटरसाइकललाई ठक्कर दिदाँ डिउटी जाँदै गरेका २ प्रहरी कर्मचारी गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हबल्दार नन्दु साह कानु र मोटरसाइकलमा पछाडि सवार सोही कार्यालयमा कार्यरत प्रहरी कार्यालय सहयोगी असलोक प्रसाद यादव छन् । दुवै जनाको एनएमसी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

वीरगन्जबाट कलैयातर्फ जाँदै गरेको ना १ ज ७७६० नम्बरको म्याजिक भ्यानले विपरीत दिशाबाट आउँदै गरेको ना १९ प २३९० नम्बरको मोटरसाइकललाई गएराति पौने ११ बजे ठक्कर दिएको थियो ।

म्याजिक भ्यान चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय प्रसौनी बाराले जनाएको छ ।

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ मा हिजो बेलुका दुईओटा मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् ।

सखुवाबाट पर्सातर्फ जाँदै गरेको प्रदेश २–०२–००३ प ७४८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भारतिय नम्बरको मोटरसाइकल हिजो बेलुका ७ बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका ७४८७ नम्बरको मोटरसाइकल चालक सर्लाहीको हरिपुर्वा नगरपालिका–४ का २५ वर्षीय रञ्जित राय यादबलाई उपचारका लागि वीरगन्ज लगिएको छ । भारतीय नम्बरको मोटरसाकइलसहित चालकलाई प्रहरी चौकी पर्साले नियन्त्रणमा लिएको छ ।

मोरङको सुन्दर हरैचा नगरपालिका–८ मा गएराति गुडिरहेको मोटरसाइकलबाट खसेर एक जना गम्भीर घाइते भएका छन् ।घाइते भएका मोरङकै सुन्दर हरैचा नगरपालिका–८ का २९ वर्षीय पंकज नायकको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भइरहेको छ ।

प्रदेश ३–०२–००१ प ४१७३ नम्बरको मोटरसाइकलमा पछाडि सवार उनी गएराति सवा १० बजे मोटरसाइकलबाट खसेका हुन् ।

मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय बिराटचोक मोरङले नियन्त्रणमा लिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति