काठमाडौं । स्वर्गीय डा. हर्क तमूको १६ औं स्मृति दिवस भव्य मनाइएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) सहित विभिन्न चार वटा संघ संस्थाहरुको संयुक्त आयोजनामा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय डा. हर्क तमूको बहुआयामिक व्यक्तित्वको चर्चा गरिएको हो ।
‘वर्तमान सन्दर्भमा जनसंख्या, आन्तरिक बसाइसराई र पर्वतीय पर्यटनः एक सिंहवालोकन’ शीर्षक सहित आयोजना गरिएको कार्यक्रममा स्वर्गीय डा. तमूका विद्यार्थी प्राध्यापक डा. भीम प्रसाद सुवेदी र डा. योगेन्द्र तमूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा डा. तमूले नेपालको भौगोलिक विभाजन, जनसंख्या, बसाई सराई, पर्वतीय पर्यटन र अन्य विभिन्न क्षेत्रमा पुराउनुभएको योगदानको चर्चा गरिएको थियो । ‘‘स्वर्गीय डा. तमू यस्ता सर्वस्विकार्य व्यक्तित्व हुनुहुन्थ्यो कि उहाँले बोलेपछि सबैले विश्वास गर्थे । उहाँको योगदानलाई कुनै एक विषयमा मात्रै सीमित गर्नु कठीन छ । नेपालको भविष्य पर्यटन हो भनेर चिनाउने व्यक्तित्व नै उहाँ हो । उहाँले गर्नुभएको अनुसन्धान र प्रकाशित पुस्तकहरुबाट पनि यो तथ्य प्रमाणित भएको छ’’, प्राध्यापक डा. सुवेदीले स्वर्गीय डा. तमूबारे भन्नुभयो ।
भुगोलविद्, नेपालको पहिलो पर्यटन मन्त्री, एनएमएका संस्थापक एवं संस्थापक सल्लाहकार स्वर्गीय डा. तमूको १६ वर्षअघि बन्यजन्तु संरक्षण सम्बन्धित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी देहान्त भएको थियो ।
उहाँकै सम्झनामा एनएमए सहित तमू (गुरुङ) पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन), तमू बौद्ध सेवा समिति र न्यु एराले संयुक्त आयोजनामा स्मृति सभाको आयोजना गरेको हो ।
कार्यक्रममा एनएमएका अध्यक्ष निमा नुरु शेर्पाले स्वर्गीय डा. तमू नेपाली पर्वतीय पर्यटनका प्रणेता भएको बताउनुभयो । ‘‘नेपालको पर्वतीय पर्यटनलाई व्यवस्थित बनाउने मात्रै हैन उहाँ मन्त्री हुँदा एनएमए मार्फत प्राप्त कार्डलाई मान्यता प्रदान गरी यस क्षेत्रमा कार्यरत पर्वतीय पथप्रदर्शक र अन्य कर्मचारीहरुको भविश्यलाई सुनिश्चित गर्ने काम उहाँले गर्नुभएको छ’’, अध्यक्ष शेर्पाले भन्नुभयो, ‘‘उहाँ नहुनु भएको भए सम्भवत हामी र नेपालको पर्वतीय पर्यटन अहिलेको अवस्थामा आइपुग्ने थिएन ।’’
कार्यक्रममा नेपाली पर्यटन क्षेत्र र विभिन्न संघ संस्थाहरुसँग सम्बन्धित व्यक्तित्वहरुको सहभागीता रहेको थियो । जिटिनका अध्यक्ष पिताम्बर तमूले सञ्चालन गर्नुभएको कार्यक्रममा न्यू एराका योगेन्द्र प्रसाईले सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया