भीमफेदी दुर्घटना अपडेट : मृतक ७ मध्ये ५ जनाको पहिचान खुल्यो (नामावलीसहित)

हेटौँडा, ७ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका–६ को जुरीखेतमा बिहीबार भएको बस दुर्घटनामा मृत्यु भएको ७ यात्रुमध्ये पाँच जनाको सनाखत भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार परिचय खुलेकाहरूमा नुवाकोट घर भई रौतहटमा नेपाली सेनामा कार्यरत ३४ वर्षीय रघुराज न्यौपाने, बाराका ३३ वर्षीय अन्दुवा मियाँ ठकुराई, बार जितपुर उपमहानगरपालिका–४ का २४ वर्षीय शेख अरमान, मकवानपुरगढी गाउँपालिका–२ का ४३ वर्षीय मदन विक, पर्सा वीरगञ्ज महानगरपालिका–३१ बस्ने ४५ वर्षीय हृदयनारायण पञ्जियार छन् ।

बिहीबार दिउँसो बा३ख ७८५८ नम्बरको यात्रुवाहक बस बाह्रघुम्तीमा दुर्घटनामा परेको थियो । बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त बस काठमाडौँबाट वीरगञ्जका लागि छुटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवम् प्रवक्ता रामचन्द्र घिमिरेले बताए ।

उनका अनुसार उक्त बसमा चालकबाहेक बच्चासहित ३२ जना सवार थिए । मृतकबाहेक बाँकी सबै यात्रु घाइते छन् । त्यसमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

घाइतेमध्ये २१ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते चितवनस्थित पुरानो मेडिकल अस्पतालमा उपचारका लागि रिफर गरिएको छ ।

घिमिरेका अनुसार बस चालक भने फरार छन् । उनको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति