काठमाडौँ, ६ असोज । प्रतिनिधिसभाको ५ वर्षे कार्यकालमा ११ वटा अधिवेशनमा जम्मा ३६२ वटा बैठक बसेको छ । ती बैठकहरूबाट १०२ वटा विधेयक पारित भएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाबाट पारित भएका १०२ विधेयकमध्ये ९७ वटा विधेयक प्रमाणीकरण भइसकेको छ । जसमध्ये नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएकी छन् ।
अन्य ४ वटा विधेयक अझै प्रमाणीकरण हुन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ । बुधबार (असोज ५)मा ३ वटो यसअघि पारित भएको कारागार विधेयक गरी ४ वटा विधेयक पारित हुन बाँकी रहेका छन् ।
प्रतिनिधिसभाको प्रथम अधिवेशन २०७४ फागुन २१ गते बसेर २०७४ चैत २२ गते अन्त्य भएको थियो । पहिलो अधिवेशनमा जम्मा ११ बैठक बसेको थियो । यो अधिवेशनमा कुनै पनि विधेयक पारित नभएको संसद् सचिवालयले जानकारी दिएको छ ।
२०७५ वैशाख २३ गते सुरू भइ २०७५ असोज ११ गते सकिएको दोस्रो अधिवेशनमा ७९ वटा बैठक बसेको थियो । सो अधिवेशनमा २३ वटा विधेयक पारित भएको संसद् सचिवालयले जानकारी दिएको छ । तेस्रो अधिवेशन २०७५ पुस १५ मा सुरू भएर २०७५ चैत १० मा ४६ वटा बैठक बसेर सकिएको थियो । तेस्रो अधिवेशनमा १४ वटा विधेयक पारित भएको थियो ।
चौथो अधिवेशन २०७६ वैशाख १६ मा सुरू भएको थियो भने २०७६ असोज २ गते अन्त्य भएको थियो । सो अवधिमा बसेको ६५ वटा बैठकले १८ वटा विधेयक पारित भएको थियो । पाँचौँ अधिवेशन २०७६ पुस ४ मा सुरू भई २०७६ चैत २४ ते २४ वटा बैठक बसेर सकिएको थियो । कोरोनाका कारण बन्दाबन्दी सुरू भएको पाँचौँ अधिवेशनमा ४ वटा मात्रै विधेयक पारित भए ।
२०७७ वैशाख २६ गते सुरू भएर २०७७ असार १८ गते सम्पन्न छैटौँ अधिवेशन २६ बैठक बसेर १० वटा विधेयक पारित गर्यो । २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन भयो । २०७७ फागुन ११ मा पुनःस्थापना भएपछि २०७७ फागुन २३ मा सुरू भएको सातौँ अधिवेशन २०७८ वैशाख ६ गतेसम्म चलेको थियो । सो अवधिमा ९ वटा बैठक बसेका थिए भने कुनै पनि विधेयक पारित भएन ।
२०७८ जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभा विघटन भयो । २०७८ असार २८ गते दोस्रोपटक पनि प्रतिनिधिसभा पुनःस्थापना भएपछि आठौँ अधिवेशन २०७८ साउन ३ गते सुरू भएको थियो । सो अधिवेशन साउन ३२ गतेसम्म चलेको थियो । आठौँ अधिवेशनमा १० वटा बैठक बसेको थियो भने कुनैपनि विधेयक पारित भएनन् ।
२०७८ भदौ २३ गते नवौँ अधिवेशन सुरू भएको थियो । कात्तिक १२ गतेसम्म चलेको नवौँ अधिवेशनमा १३ वटा बैठक बसेको थियो । अधिवेशनभर प्रमुख विपक्षी दल नेकपा (एमाले)ले सबै बैठकहरू अवरूद्ध गरेको थियो । बैठक अवरूद्ध भएपछि बजेटसम्बन्धी तीन विधेयक पारित भएर अधिवेशन अन्त्य भएको थियो ।
प्रतिनिधिसभाको १०औँ अधिवेशन २०७८ मंसिर २८ मा सुरू भएर २०७८ चैत १ गतेसम्म चलेको थियो । १०औँ अधिवेशनमा ११ वटा बैठक बसेको संसद् सचिवालयले जनाएको छ । १०औँ अधिवेशनमा पनि प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध जारी राखेका थिए । सो अवरोधका कारण यस अधिवेशनमा कुनै पनि विधेयक पारित भएन ।
त्यसपछि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि २०७९ जेठ ३ गते ११औँ अधिवेशन सुरू भएको थियो । २०७९ असोज १ गतेसम्म चलेको यो अधिवेशनमा कुल ६८ बैठक बसेको थियो । यस अधिवेशनबाट ३० वटा विधेयकहरू पारित भए भने जरूरी सार्वजनिक महत्वका प्रस्तावहरूसहित स्थगत प्रस्तावमा छलफल हुँदा सभामुखको सहजीकरणमा साझा प्रस्तावसमेत पारित भएको जनाइएको छ ।
प्रतिक्रिया