बृहत् नागरिक आन्दोलनले माग्यो राष्ट्रपति भण्डारीको राजीनामा

काठमाडौँ, ६ असोज । बृहत् नागरिक आन्दोलनले संविधानको सर्वोच्चता कायम राख्न राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बताएको छ ।

संघीय संसद्को दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको भन्दै बृहत् नागरिक आन्दोलनले व्यवस्था थप जोखिमपूर्ण बन्न नदिन र संविधानको सर्वोच्चता कायम राख्न भण्डारीले राजीनामा दिनुपर्ने भनेको हो ।

“नागरिकको मतबाट निर्वाचित सार्वभौम संसद्ले पारित गरेर पठाएको विधेयक प्रमाणित नगर्नु संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन हो । संविधानको संरक्षकबाट नै संविधान उल्लंघन गर्ने कार्यको बृहत् नागरिक आन्दोलन विरोध गर्दछ । संविधान उल्लंघन गर्दै बलमिच्याइँ गर्न खोज्ने राष्ट्रप्रमुखले पदको गरिमा मात्र कायम राख्न नसकेको होइन, लोकतान्त्रिक गणतन्त्रमाथि नै जोखिम उत्पन्न गरेको छ,” बृहत् नागरिक आन्दोलनका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।

अगाडि भनिएको छ, “संवैधानिक संस्कार बलियो बनाउने, संविधान रक्षा गर्ने र सम्मानसहित दिइएको पदको गरिमा जोगाउने मुख्य दायित्व राष्ट्रपतिको हो । संविधान र व्यवस्थाको मर्मविपरीत राष्ट्रपतिले संवैधानिक सीमा नाघेको यो पहिलोपटक होइन । कुत्सित उद्देश्यसहित बारबार संविधान एवम् लोकतान्त्रिक व्यवस्थाको मूल्य–मान्यता धूलिसात बनाउने भण्डारी राष्ट्रप्रमुखजस्तो गरिमायुक्त पदमा बसिराख्नु उक्त पदको ओज घटाउनु हो ।”

नागरिकता विधेयकमा भाँजो हालेर राष्ट्रपतिले लामो समयदेखि अनागरिकका रूपमा रहेका लाखौँ व्यक्तिलाई नागरिक हुनबाट वञ्चित गरेको विज्ञप्तिमा उल्लेख छ ।

“अनागरिकलाई नागरिक बनाउने उद्देश्यले ल्याइएको विधेयकलाई नेपाल सरकारले अविलम्ब जारी गर्ने संवैधानिक बाटो खोजी गर्नुपर्ने बृहत् नागरिक आन्दोलनको अडान छ,” विज्ञप्तिमा भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति