काठमाडौँ, ५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणका गर्न अस्वीकार गरेकी छन् । राष्ट्रपतिले मंगलबार राति १२ बजेसम्म पनि नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको हो ।
दोस्रो पटक संसद्बाट पारित भएर २० भदौमा शीतल निवास पुगेको विधेयक भण्डारीले होल्ड गरेर राखेकी थिइन् । तर, विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिले पाएको समयसीमा मंगलबार मध्यरातिबाट सकिएको हो ।
संविधानको धारा ११३ को उपधारा (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनःविचार गरी त्यस्तो विधेयक प्रस्तुतरुपमा वा संशोधनसहित पारित गरी पुनःपेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था कार्यान्वयन नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेकी छन् ।
यसअघि १५ साउनमा पहिलो पटक संसद्को दुवै सदनबाट पारित भएर पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न भन्दै २९ साउनमा संसद्मै फिर्ता पठाएकी थिइन् । उनले १५ बुँदे सन्देश समेत पठाएकी थिइन् ।
तर, संसद्ले विधेयक जस्ताको त्यस्तै फेरि पारित गरेर प्रमाणीकरणका लागि पठाएको थियो । प्रतिनिधिसभाको कार्यकाल पनि १ असोजबाट सकिसकेको छ ।
प्रतिक्रिया