ओलीले सांसदलाई विदाई गर्दै भने, ‘भोलिदेखि बहुमत पुर्‍याउन चुनावमा खटिनुस्’

काठमाडौं, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गरेका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई बिदाइ गरेका हुन् ।

उनले सांसदहरूलाई ४ मंसिरमा हुने निर्वाचनमा लाग्न निर्देशनसमेत दिए । २ असोजमा समानुपातिकको बन्दसूची बुझाउने कार्यतालिका भएकोले संसदको कार्यकाल सोही दिन सकिँदै छ । सोही कारण एमालेले शुक्रबार नै सांसदहरूलाई बिदाइ गरेको हो ।

अध्यक्ष ओलीले भोलि १ असोजको मध्यरातदेखि संसदको कार्यकाल सकिने भन्दै गाउँ जान पार्टीका सांसदलाई निर्देशन दिए ।

प्रतिनिधिसभाको कार्यकाल सकिने अघिल्लो दिन एमालेको अन्तिम संसदीय दल बैठक बसेको हो । आजको बैठकमा ओलीले मात्रै सम्बोधन गरेका थिए । उनले प्रतिनिधिसभामा एमाले सांसदहरूले निभाएको भूमिको प्रशंसा गरे ।

संकटका बेला पार्टीलाई साथ दिएको भन्दै उनले भने, ‘सरकारले संसदको कार्यकाल लम्ब्याउने प्रपञ्च गर्‍यो । तर हाम्रो लागि भोलिदेखि संसदको कार्यकाल सकिएको छ, भोलिदेखि हामी संसदमा आउँदैनौं ।’

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले अब चुनावमा खटिन समेत निर्देशन दिएका छन्। ओलीले भने, ‘चुनाव लाग्यो । तपाईंहरु गाउँगाउँमा खटिनुस्, एमालेको बहुमत पुर्‍याउन लाग्नुस् ।’

बैठकपछि सामूहिक फोटोसेसन गर्दै नेताहरू छुट्टिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति