काठमाडौं ३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै बेला माधव नेपाल पार्टी प्रमुख भएका बेला आफ्नो पद गएको आफूले कर्मचारी बाट थाहा पउने गरेको बताएका छन् ।
ललितपुरको च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भने, एकताका हाम्रो पार्टीको नेतृत्व अलोकतान्त्रिक थियो। ‘म कुनै समय एक विभागको प्रमुख हुन्थें। अर्को दिन कतिखेर हटाइँन्थे, थाहै हुँदैनथ्यो।’
उनले थपे, ‘हाम्रै कतिपय साथीहरुसँग ८ /१० वटा विभाग हुन्थे। एउटै मान्छे ११ वटा विभागसम्मको प्रमुख हुन्थ्यो। मसँग एउटा पनि विभाग हुँदैनथ्यो।’
विगत सम्झिँदै ओलीले भने, ‘म संसदीय दलको उपनेता थिएँ। चलन अनुसार मेरो नेमप्लेट टाँसिएको थियो। कुर्सीमा बस्न खोज्दा तपाईंले नेमप्लेट हेर्नु भएन कि क्या हो सररु तपाईं त हटिसक्नुभएको छ। अर्कै आइसकेको छ भनेर कर्मचारीले सुनाउँथे। बाहिर गएर नेमप्लेट हेर्दा अर्कै साथीको नाम टाँसिएको हुन्थ्यो। त्यति हुँदा पनि मैले पार्टी छोडिनँ। कमरेडले भने पार्टी छोड्नु भएछ।’
ओलीले पार्टी उद्धेश्य अनुरुप चल्नुपर्ने बताए। पार्टी भनेको एउटा विचारको धागोमा उनिएको, एउटा गन्तव्यतर्फ उन्मुख हुनुपर्नेमा उनले जोड दिए।
पार्टीमा एउटै नीति, एउटै सिद्धान्त र विचार हुने भन्दै ओलीले पार्टी मान्छेहरुको हुल नभई, विचारमा आवद्ध मानिसको, उद्देश्यमा आवद्ध मानिसको, गन्तव्यमा आवद्ध मानिसको एउटा संस्था र संगठन भएको बताए।
प्रतिक्रिया