काठमाडौं ३० भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले बयानको क्रममा आरोपित गरेका चार पूर्वप्रधानन्यायाधीश महाभियोग सिफारिस समितिमा गएर बयान नदिने भएका छन् ।
उनीहरुले आपसी छलफल गरेर पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुसार समितिको बैठकमा सहभागी हुन नसक्ने निधो गरेका हुन् ।
समितिको बैठकले बिहीबार पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुलाई सोधपुछका लागि बोलाएको थियो ।
‘हामीले यसबारेमा सामान्य छलफल गर्यौं र जान सम्भव नहुने निष्कर्ष निकालेका छौं,’ एक पूर्वप्रधानन्यायाधीशले भने, ‘हामी पूर्वन्यायकर्मी हौं, हाम्रा आफ्ना सीमा र मर्यादाहरु छन् । समितिले बोलाएपछि हामी जानसक्ने अवस्था रहेन । नजाने भनेर खबर पठाएका छौं ।’
उनीहरुले केहीबेरमा यसबारे आधिकारिक धारणा समेत सार्वजनिक गर्ने तयारी गरेका छन् ।
निलम्बित प्रधानन्यायाधीश जबराले महाअभियोग बारेको बयानका क्रममा चार पूर्वप्रधानन्यायाधीशहरुलाई अवकाशपछि समेत अदालतमा आफ्नो भाग खोजेको आरोप लगाएका थिए ।
मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधिसभा विघटनदेखि जबराविरुद्ध सर्वोच्च अदालतमा आन्दोलन हुँदा विज्ञप्ति निकालेर आफ्ना धारणा राखेका थिए । त्यसमाथि आक्रोश पोख्दै निलम्बित प्रधानन्यायाधीश जबराले उनीहरुमाथि भाग खोजेको आरोप लगाएका थिए ।
यस अघि नै सर्वोच्च अदालतका न्यायाधीशहरुले फुल कोर्ट बैठकमार्फत समितिमा गएर बयान दिन नमिल्ने बताइसकेको छ ।
प्रतिक्रिया