काठमाडौं २८ भदौ । नेपाल र भारतका परराष्ट्र सचिवहरूबीच मंगलबार दिल्लीमा सीमा विषय लगायत कनेक्टिभिटी, पूर्वाधार विकास, विद्युत सहकार्य लगायत दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । नेपाली राजदूताबासद्धारा मंगलबार मध्यराती जारी विज्ञप्तिमा दुई परराष्ट्र सचिवहरुबीच कालापानी–लिपुलेक र सुस्ताका विषयमा छलफल भएको उल्लेख छैन । बरु, ती बाहेकका खण्डमा सीमांकनका बाँकी काम स्थापित द्धिपक्षीय संयन्त्रले टुंग्याउने विषयमा छलफल भएको छ ।
मंगलबार भारतको औपचारिक भ्रमणमा गएका परराष्ट्र सचिव भरतराज पौड्याललाई भारतीय समकक्षी विनयमोहन क्वात्राले हैदरावाद हाउसमा स्वागत गरेका थिए । यसअघि प्रधानमन्त्रीस्तरीय वार्ता हुने ठाउँमा दुई देशका परराष्ट्र सचिवहरुको बैठक भएको थियो । हैदरावाद हाउसमा परराष्ट्र सचिवहरुबीच बेग्लै र प्रतिनिधिमण्डल स्तरीय बेग्लै छलफल भएको थियो ।
‘उनीहरुबीच सीमाका विषयमा पनि छलफल भएको छ । यस सन्दर्भमा सुस्ता र कालापानीबाहेकका बाँकी खण्डमा सीमांकनको कार्य स्थापित द्धिपक्षीय संयन्त्रबाट टुंग्याउनुपर्ने बिषयमा छलफल भएको छ’ दिल्लीस्थित नेपाली राजदूताबासको विज्ञप्तिमा उल्लेख छ । परराष्ट्र सचिव पौड्यालले मल आपूर्ति हुनुपर्ने तथा नेपालमा चामल, धान, चिनी र गहुँ नेपाल निर्यातमा लागेको प्रतिबन्ध हटाउन अनुरोध गरेका थिए ।
औपचारिक वार्तामा दुई देशका व्यापारिक सहयोगका विविध क्षेत्रमा छलफल भएको थियो । पारवहन, जडान, पूर्वाधार, विद्युत क्षेत्र, सिँचाइ तथा डुबान, कृषि, लगानी, विकास सहयोग, स्वास्थ्य क्षेत्रमा सहकार्य, संस्कृति र जनस्तरको सम्बन्धबारे विस्तारमा छलफल भएको थियो ।परराष्ट्र मन्त्रालयका अनुसार दुई सचिवहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमण ९अप्रिल २०२२० र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण ९ मे २०२२० मा घोषणा गरिएका परियोजना र उनीहरुको पहलहरूमा भएका द्धिपक्षीय सम्बन्धको प्रगति पुनरावलोकन गरेका थिए ।

नेपालबाट भारतमा विद्युत् निकासीलगायत ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगमा भएको पछिल्लो प्रगतिको सराहना भएको थियो । प्रधानमन्त्री देउवाको भारत भ्रमणमा भएको ऊर्जा क्षेत्र सहयोग सम्बन्धी संयुक्त भिजन स्टेटमेन्टका आधारमा सहकार्य सुदृढ बनाउने सहमति भएको थियो । यही पृष्ठभूमिमा भारतीय लगानी नेपालको जलविद्यूत क्षेत्रमा बढेको छ ।
दुई परराष्ट्र सचिवहरुबीच कनेक्टिभिटी परियोजनाहरूको सन्दर्भमा, जयनगर–बर्दिबास रेल लिंकको कुर्ता–बिजलपुरा खण्ड र जोगबनी–विराटनगर रेल लिंकको बथनाहा–नेपाल भन्सार यार्ड खण्डको संचालनमा भएको प्रगतिको समीक्षा भएको थियो । नेपाली पक्षले कोरोना महामारीको समयमा पनि भारतले गरेको सहयोगको प्रशंसा गर्दै लकडाउनको चरम सीमामा पनि व्यापारको आपूर्ति लाइन खुला राखेकोमा भारतीय पक्षलाई धन्यवाद दिएको थियो
दुई जनताबीचको सम्बन्ध अझ सुदृढ पार्न दुवै पक्ष रामायण सर्किटको परियोजना प्रस्ताव अघि बढाउन सहमत भएका छन् । ‘अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने र मोतिहारीदेखि चितवनसम्म एलपीजी पाइपलाइन निर्माण गर्ने कार्यलाई तीव्रता दिन दुवै पक्ष सहमत भएका छन्’ भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
उनीहरुबीच अन्तराष्ट्रिय बहुपक्षीय मञ्चहरुमा सहकार्यका बारेमा पनि छलफल भएको थियो । विद्युत प्रशारण लाइन निर्माण, रेलवे कनेक्टिभिटी,एकीकृत जाँच चौकीहरुको निर्माण, महाकालीमा मोटोटेबल पुल र अन्य महत्त्वपूर्ण पूर्वाधार निर्माणका विषयमा पनि सचिबहरुबीच छलफल भएको थियो । सचिवहरुबीच पारवहन सन्धी र यसको प्रोटोकल र प्रोटोकलको मेमोरेन्डमलाई चाँडै टुंग्याउने विषयमा छलफल भएको छ । वाणिज्य सन्धी पुनरावलोकनका विषयमा पनि छफल भएको छ ।दुई देशबीच आपसी हित हुने गरि निर्वाधरुपमा ऊर्जा व्यापार हुनुपर्नेमा पनि छलफल भएको थियो ।
प्रतिक्रिया