एमाले एक्लै गठबन्धनविरूद्ध काफी छ : ओली

काठमाडौँ, २८ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । एमालेले जनकपुरमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका हुन् ।

“एमाले कसैको सहारामा चल्ने पार्टी होइन,” उनले भने, “एमाले एक्लै गठबन्धनविरूद्ध काफी छ , कसैको सहारा चाहिँदैन ।” उनले कुनै दललाई तालमेलको नाममा सहारा दिन सकिने बताए ।

“लोकतन्त्रमा गठबन्धन बनाएर चुनाव लड्नु उचित हुँदैन त्यसैले एमाले गठबन्धन गर्दैन,” पूर्वप्रधानमन्त्रीसमेत रहेको ओलीले भने, “कुनै कुनै दलसँग तालमेल हुनसक्छ । कुनै कुनै दललाई तालमेलको नाममा सहारा भने दिन सकिन्छ ।”

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एमालेले गठबन्धन गर्न लागेको चर्चाका बीच ओलीले लोसपातर्फ इंगित गर्दै तालमेल हुनसक्ने स्पष्ट पारे । लोकतन्त्रमा कुनै कुनै दललाई रेस्क्यु पनि गर्न सकिने उनको भनाइ थियो ।

गठबन्धनविरूद्ध आक्रामक रूपमा प्रस्तुत भएका ओलीले एमालेसँग एक्लै भिड्न गाह्रो रहेको बुझेर नै कांग्रेस माओवादीको सहारामा गठबन्धन बनाएर भिडिरहेको बताए ।

“गठबन्धनका नेताहरूलाई मंरिस ४ गतेपछिको परिणाम थाहा छ,” उनले भने, “त्यसैले शेरबहादुरजी र प्रचण्डजीको अहिले मुस्कान छैन ।”

आगामी निर्वाचन सामान्य निर्वाचन नभई मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने निर्वाचन भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनबाट एमालेको सरकार नबने मुलुक संकटमा फस्ने दाबीसमेत गरे । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले मात्र समृद्धिको लक्ष्य पूरा गर्नसक्ने बताउँदै भने, “गठबन्धनले देशलाई पछाडि धकेल्ने काम गरेको छ, नेपालीले देखेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को सपना केवल एमालेले मात्र पूरा गर्न सक्छ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति