समानुपातिकमा २० लाख मत पाउँछौँ : माधव नेपाल

चन्द्रौटा, २६ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् । मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशको यहाँ आयोजित भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताए ।

गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे । उनले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए । मुस्लिम इत्तेहाद संगठनले देशभरका प्रदेशमा भेला भइरहेकाले मुस्लिम एकजुट भई संगठन बलियो बनाउन उनले आग्रह गरे ।

पार्टीका सबै संगठनलाई मजबुत बनाउने दायित्व सबै नेता कार्यकर्ताको रहेकाले गाउँगाउँमा संगठन बलियो बनाउनुपर्नेमा नेता नेपालले जोड दिए । उनले गरिब र अत्याचारविरुद्ध लड्ने पार्टी एकीकृत समाजवादी रहेकाले आगामी निर्वाचनमा अत्यधिक मत पाउनेगरी काम गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले छोरा र छोरीमा विभेद गर्न नहुने बताए । छोरीलाई पनि शिक्षाको पहुँचमा ल्याउनुपर्ने भन्दै उनले स्थानीय सरकार प्रदेश सरकारले विशेष कदम चाल्नुपर्ने बताए । उनले मधेस प्रदेशले बेटी बचाउ, बेटी पढाउ अभियान सञ्चालन गरी छोरीलाई शिक्षाको पहुँचमा पुर्याउने प्रयास गरेको बताए । उनले मदरसालाई व्यवस्थित गराइ सरकारी स्वामित्वमा ल्याउन र हज कमिटी गठनमा आफूले प्रयास गरेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति