चुनावअघि माओवादीसँग पार्टी एकता सम्भव छैन : झलनाथ खनाल

कास्की, २५ भदौ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताएका छन् ।

समाजवादी प्रेस संगठनले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आसन्न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल भए पनि एकता नहुने स्पष्ट पारे ।

उनले भने, ‘विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले आफू सधैँ वाम गठबन्धन र कम्युनिस्ट एकताका पक्षमा रहे पनि वाम घटक नेतृत्वमा रहेका नेताहरूले एकतामा रूचि नदेखाएको जिकिर गरे ।

सत्ता गठबन्धनका दलकाबीच चुनावी तालमेलको निर्णय भइसकेकाले गठबन्धन हुने निश्चित भएको र सिट बाँडफाँडमा पनि ९० प्रतिशत सहमति भएकाले ढिलोमा आगामी आइतबारसम्म टुंगो लाग्ने बताए ।

सम्मानित नेता खनालले आगामी निर्वाचनमा राष्ट्रियताका लागि लड्ने उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए । उनले भने, ‘देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान र समाजवादका लागि लड्ने योद्धालाई निर्वाचनमा विजयी बनाउन आवश्यक छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति